‘लाग्दैन धुलो गोडैमा सेल्फी रोडैमा’

Enepal Patra Pvt. Ltd. , २२९९  पटक हेरिएको

हरिप्रसाद कोइराला ,
पथरीशनिश्चरे(मोरङ), ५ साउन । ‘लाग्दैन धुलो गोडैमा एमजी रोडैमा’ भारतको सिक्किममा छायाङ्कन भएको यो गीत युवा पुस्ताको मुखैमा झुण्डिएको छ । सुन्दा कर्णप्रिय लाग्ने यो गीतको भारतको सिक्किममा छायाङ्कन भएको हो । तर, त्यो भन्दा कम छैन् मोरङको पथरीशनिश्चरे २ को सेल्फीरोड ।
पथरीशनिश्चरे २ का वडासदस्य पर्शुराम न्यौपानेले भन्नुभयो–एमजी रोड भन्दा कम छैन्, हाम्रो सेल्फीरोड । न्यौपानेले सेल्फीरोडमा पनि धुलो नलाग्ने बताउनु भयो । । देशमा बन्दाबन्दी केही खुकुलो भएसँगै तीन सातायता सेल्फीरोडमा फोटो खिच्नेको ताँती लाग्न थालेको छ । मौसम राम्रो भएको दिन त एकापसमा नठोक्किकन हिड्न सकिदैन् । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुनझोडा पूल पश्चिम पट्टिबाट दक्षिण तर्फ लाग्ने ११ सय मिटर लामो कालोपत्रे सडक साँच्ची कै सुन्दर छ । सडकको पूर्व पश्चिम चौतारी सामूदायिक वनले हुर्काएको सालको जङ्गल छ । एक नासका बिरुवा , खुला जङ्गल । फोटो साँच्चै सुन्दर आउँने बताउनु हुन्छ– टेलिभिजन पत्रकार गोपाल काफ्ले । फोटोग्राफरबाट टेलिभिजन पत्रकारिता सुरु गर्नु भएका काफ्लेले भन्नुभयो – तीन साता यता यहाँको भीड देख्दा हामी मात्र होइन । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्नेहरू पनि के को भीड रहेछ भनेर गाडी सेल्फीरोड तिर मोड्छन् ।
सर्वसाधरण मात्र होइन । स्थानीय जनप्रतिनिधि,दलका नेता र कलाकारहरु पनि फोटो खिच्न त्यहाँ पुग्ने गरेका छन् । राम्रो(आकर्षक) आउने मात्र होइन । सफा र चिटिक्क परेको रोडले जो कोहीलाई लोभ्याउने गरेको छ । सडकमा सेल्फी खिच्नेको भीड बढेपछि पथरी बजारका कुल्फी,आइसक्रिम र चटपटे ब्यापारीहरू सेल्फीरोड तिर पसल थाप्न थालेका छन् । आइसक्रिम ब्यापारी अजित अधिकारीले भन्नुभयो–बजारमा भन्दा यता दोब्बर ब्यापार हुन्छ । बजारमा दैनिक १ हजार ५ सयको बिक्री हुन्थ्यो । यता आएपछि ४ हजार सम्मको बिक्री भइरहेको छ । कानेपोखरी– ६ बिहीबारेबाट चटपटे ब्यापार लिएर सेल्फीरोड पुग्नु भएकी सुनीता तामाङले भन्नुभयो– पथरी बजारमा मुस्किलले २ सयको ब्यापार हुन्थ्यो । यता हरेक दिन ५ सयको ब्यापार भइरहेको छ । पानी नपरेको दिन त ८ सय सम्म ब्यापार हुन्छ । अधिकारी र तामाङले ब्यापार सुरु गरेपछि अहिले सो क्षेत्रमा १५÷१६ ब्यापारीले पसल थाप्न थालेका छन् ।
एकाएक सेल्फीरोड चर्चामा आएपछि पथरीशनिश्चरे – २ ले रोडको दुबै तर्फ बस्ने बेञ्च राख्ने तयारी गरेको छ । वडासदस्य पर्शुराम न्यौपानेले भन्नुभयो – दुबै तर्फ फलामका बेञ्च राख्ने,डस्विनको ब्यवस्था गर्ने र शौचालयको प्रबन्ध मिलाउने तयारीमा वडा कार्यालय लागेको छ ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : १७:३०:५५ , ४ वर्ष अगाडि