डिभिजन वनको सहयोगमा जनजागृति बनले ग¥यो वृहत वृक्षारोपण

Enepal Patra Pvt. Ltd. , १४२२  पटक हेरिएको

कानेपोखरी,१४ असार । मोरङको कानेपोखरी–५ स्थित जनजागृति सामूदायिक वन उपभोक्ता समूहले बुधबार ५ दशमलव २१ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको छ ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले विरुवा रोपेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । सामूदायिक वनको संरक्षित क्षेत्र भित्र रहेको खाली तथा पर्ति जग्गामा डिभिजन वन कार्यालय मोरङको सहयोगमा केही वर्ष यता सामूदायिक वनले वृक्षारोपण कार्यक्रम गरिरहेको छ । वृक्षारोपण कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहनु भएका डिभिजन बन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विशाल घिमिरेले रोपिएका प्रत्येक विरुवाको संरक्षण गर्न उपभोक्तासँग आग्रह गर्नुभयो । मोरङ जिल्लामा १३४ वटा सामूदायिक वन रहेको बताउँदै घिमिरेले उपभोक्तालाई सन्तुष्ठ बनाए मात्र सामूदायिक वनले उपलब्धि प्राप्त गरेको बुझ्न सकिने उल्लेख गर्नुभयो । उपभोक्तालाई न्यायोचित रुपमा वितरण गर्ने विषयमा र सुशासनका विषयमा केही समस्या रहेको उल्लेख गर्दै घिमिरेले भन्नुभयो–सुशासन कायम हुन नसक्दा समूदायकै केही सदस्यले उजुरी गर्ने र बन कार्यालयले निगरानी गर्नु पर्ने अवस्था आएको बताउनु भयो । कार्यक्रममा बोल्दै सामूदायिक वन उपभोक्ता महासंघ प्रदेश नं १ का सचिव अग्नि पौडेलले सरकारले सामूदायिक वनलाई लगाएका केही कर हटाए पनि कर एकद्वार प्रणालीबाट मात्र लिइनु पर्ने बताउनु भयो । सामूदायिक वन स्थानीय निकायलाई १० प्रतिशत कर तिर्न मन्जुर भएपनि तीनै तहका सरकारलाई कर तिर्न बाध्य नहुने उल्लेख गर्नुभयो ।
जनजागृति सामूदायिक वनका अध्यक्ष रकम राईको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष सविता राईले स्वागत भाषण गर्नुभएको थियो । स्वागत भाषण गर्दै राईले ८ हजार ३३६ वटा विरुवा रोपिने जानकारी गराउनु भयो । राईका अनुसार डिभिजन वन कार्यालय मोरङको ६ लाख४८ हजार ७३९ रुपियाँ र सामूदायिक वनको ३ लाख ३६ हजार ७८१ रुपियाँ गरी कूल ९ लाख ८५ हजार ४४० रुपियाँको लागतमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । स्थानीय रैथाने जातका लोपोन्मुख विरुवाहरू हुर्काउने उदेश्यले वृक्षारोपण गरिएको अध्यक्ष रकम राईले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-०८ , समय : २०:५८:३७ , ४ वर्ष अगाडि