बजार नपाउँदा लाखौंको तरकारी नष्ट

Enepal Patra Pvt. Ltd. , ११२३  पटक हेरिएको

हरिप्रसाद कोइराला
उर्लाबारी, २० असार । लाखौं रुपियाँ खर्च गरेर लगाएको तरकारी उत्पादन भएपछि भएको लामो बन्दाबन्दीले मोरङको उर्लाबारीस्थित पाठशाला कृषि सहकारी संस्था लि.का शेयर सदस्यले लाखौं रुपियाँ घाटा ब्यहोर्नु पर्ने भएको छ ।
गत वर्ष तरकारी खेतीबाट साडे ७ लाख आम्दानी गरेको पाठशाला कृषि सहकारी संस्था लि. ले यो वर्ष २४ लाख ७८ रुपियाँ आम्दानी लक्ष्य राखेर तरकारी खेती गरेको थियो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भन्नुभयो – तरकारी खेतीमा मात्रै ६ लाख रुपियाँ खर्च भएको छ । संस्थाले ३ वर्ष यता ४ बिगाहा ११ कट्ठा जग्गा लिजमा लिएर ब्यावसायिक तरकारी खेती गरिरहेको छ । माघमा १५ कट्ठामा लगाएको टमाटरबाट १५ लाख रुपियाँ आम्दानी लिने लक्ष्य थियो । अध्यक्ष खतिवडाले भन्नुभयो – गत वर्ष ३ हजार ७ सय बोट टमाटरले साडे ७ लाख आम्दानी दिएको थियो । गत वर्ष रामे आम्दानी भएपछि यो वर्ष ५ लाख खर्च गरेर ७ हजार बाट टमाटर लगायौं । रामे फल्यो । तर , बिक्री गर्ने बेलामा बन्दाबन्दी सुरु भएपछि बारी मै कुहिएर सकियो ।
गत वर्षको अनुभवले ब्यावसायिक तरकारीको राम्रो सम्भावना देखेपछि साधारण सभाले नै तरकारी खेतीलाई प्राथमिकतामा राख्यो । सोही अनुसार सहकारीले २ बिगाहा ४ कट्ठामा ६ लाख रुपियाँ खर्च गरेर टमाटर,करेला,लौका, बोडी, भिन्डी र फर्सीको ब्यावसायिक खेती गरेको हो । अध्यक्ष खतिवडाका अनुसार संस्थाले टमाटर १५ कट्ठामा ,करेला ७ कट्ठामा ,लौका ४ कट्ठामा,घिरौला ४ कट्ठामा,फर्सी ५ कट्ठामा ,भिन्डी ७ कट्ठामा र बोडी अढाई कट्ठामा लगाएको थियो । हाल बोडी, करेला र घिरौला सामान्य बिक्री भइरहेको भए पनि मुख्य रुपमा लगाएको बेमौसमी तरकारी बिक्री गर्न नपाउँदा सहकारीलाई ठूलो आर्थिक घाटा लागेको छ । तरकारीको मूख्य अभाव र बढी माग हुने समयलाई लक्षित गरी उत्पादन गरिएको तरकारी सोही समयमा बन्दाबन्दी भएपछि बिक्री गर्न नपाएको सहकारी संस्थाका सदस्यहरूको भनाई छ ।
तरकारी खेतीबाट घाटा हुँदैन,भन्ने सुनिश्चित भएपछि खेती सुरु गरेका हौं । तर, बन्दाबन्दीले बिक्री गर्न पाएनौं । अहिले पनि बारीले ३÷४ लाख रुपियाँको तरकारी छ । समाचार र पत्रपत्रिकामा ६० रुपियाँमा उपभोक्ताले किनेर खाएको समाचार आउँछ । तर, हामी २० रुपियाँ किलोमा किनी देउ भन्दै ब्यापारीको ढोकामा पुग्दा पनि किनी दिँदैनन् ।

प्रकाशित मिति: २०२०-०७-०४ , समय : १८:४०:०२ , ४ वर्ष अगाडि