काङ्ग्रेस महाधिवेशन पूर्व निर्धारित समय मै हुने

Enepal Patra Pvt. Ltd. , ३९४  पटक हेरिएको

 

काठमाडौं ,१४ असार। नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन काँग्रेसले यही असार १६ गते दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो ।

सो तालिका अनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो ।

उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्‍याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो । काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ-नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ-नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्काे व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

 

काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०६-२८ , समय : २१:०९:१० , ४ वर्ष अगाडि