कीर्तिपुरले कर नबढाउने

Enepal Patra Pvt. Ltd. , ४०९  पटक हेरिएको

कीर्तिपुर, ८ असार । कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ ।

परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७÷०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो । प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ ।
आव २०७६/०७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म रु आठ करोड ४५ लाख मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिनुभयो । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो ।
पिसिआर ल्याब स्थापना तयारी
त्रिभुवन विश्वविद्यालय परिसरमा लायन्स क्लबले स्थापना गरेको ब्लड बैंँकको भवनमा नगरपालिकाले पिसिआर ल्याब स्थापनाको तयारी गरेको छ । त्रिविमा रहेको पिसिआर मेसिन प्रयोग गरी नगरपालिकाले ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । नेपाल सरकारको स्वीकृतिअनुसार ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।
नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ बाट नै खर्च हुने गरी आवश्यक उपकरण खरीद गरिएको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डानुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत उपकरण खरीद गरिएको छ ।
दुई चरणमा नगरपालिकाले उक्त कोषमा रु एक करोड ५० लाख जम्मा गरेको छ भने सहयोगसमेत आइरहेको जनाइएको छ । कोरोनाका विषयमा नगरपालिकाबाट हुने सम्पूर्ण खर्च उक्त कोषबाट गरिँदै हुँदै आएको छ ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १३:५५:४५ , ४ वर्ष अगाडि