नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीलाई सहज

Enepal Patra Pvt. Ltd. , ३४२  पटक हेरिएको

बिराटनगर, ४ असार  । नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न देशका न्यूरो सम्बन्धि २ हजार भन्दा बढी बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ । बर्षौदेखि रोग पालेर बसेका बिरामी पनि नोबेलमा शल्यक्रिया गराएर निको भएका छन् । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी भरपर्दो उपचारलाई निरन्तरता दिईएपछि राम्रो उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको बिरामीहरु बताउँछन् । एउटै अस्पतालमा न्यूरो सर्जरीसहित सम्पूर्ण उपचार सेवा पाउँदा धेरै सहज भएको नोबेलमा उपचाररत भोजपुरका जागिरमान राईले बताए । ‘न्यूरो सम्बन्धि जटिल समस्याका लागि पनि अन्त जानु पर्दैन । सवै उपचार नोबेलमै पाउँदा धेरै सजिलो भएको छ ।’ उनले भने ।

यता, छोराको अप्रेशनका लागि आएकी सिरहा सुखिपुरकी सीतादेवी शाहले पनि अत्याधुनिक सेवा पाउँदा धेरै राहत मिलेको बताईन् । उनीहरु जस्ता अधिकांस बिरामी र बिरामीका आफन्तले नोबेलमा अत्याधुनिक सेवा पाउँदा सहजता मिलेको प्रतिक्रिया दिने गरेका छन् । नोबेलले दुई अर्ब २० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको हो । सेवा सुरु गरेपछि बिश्वकै दुर्लभ र जटिल मानिने शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका विरामी पनि न्यूरो सर्जरीका लागि आउँने गरेका छन् । फिनल्याण्डका बिरामीलेसमेत नोबेलमा आएर ब्रेन ट्यूमरको शल्यक्रिया गराएका छन् ।

नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएकाले जटिल शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले बताउँछन् । गुणस्तरीय सेवामा केन्द्रित हुँदै गएको नोबेलले न्यूरोसहित कार्डियो, पल्मो लगायत सेवामा पनि स्तरीयता बढाउँदै लगेको छ ।

प्रकाशित मिति: २०२०-०६-१८ , समय : १४:१६:११ , ४ वर्ष अगाडि