वी‍‍.पी. काेईराला अस्पतालकाे सेवा अब लेटाङबाटै पाईने

Enepal Patra Pvt. Ltd. , ८२९  पटक हेरिएको

लेटाङ ३ असार ।  वी‍‍.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान घोपाको सेवा लेटाङबासीले स्थानिय स्तरबाट पाउने भएका छन् ।

सामान्य देखि जटिल किसिमका रोगहरुको उपचार सम्बन्धी डाक्टरको ओपिडी सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाट नै संचालन हुने भएपछि लेटाङ तथा आसपासका जनतालाई धरानसम्म धाई रहनुपर्ने अवस्थावाट मुक्त भएको हो । बुधबार बि।पिको प्राबिधिक टोलीले स्वास्थ्य केन्द्रमा आएर सेवा सुचारु गरेसँगै गरिब तथा असहायहरुलाई सुबिधा पुग्ने भएको हो । वी‍‍.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको टेलि मेडिसिन कार्यक्रम अन्तर्गत यो सेवा संचालन हुने भएको हो ।

स्वास्थ्य केन्द्र तथा वी‍‍.पी.को प्राबिधिक टोलीले बनाएको समय तालिका अनुसार बिरामीले भिडियो कन्फरेन्स प्रबिधिबाट डाक्टरसँगको ओपिडि सेवा लिन सकिने वी‍‍.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कम्प्युटर शाखा प्रमुख राकेश दासले बताउनुभयो । दासका अनुसार रोग र डाक्टरको समय तालिकाबारे स्वास्थ्य केन्द्रले स्थानिय रुपमा सुचना निकाल्ने र सोही समय अनुरुप बिरामीले आफ्नो रोगको बिबरणका आधारमा नाम टिपाई भिडियो कन्फरेन्सका माध्यमबाट रोगको जाँच गर्न सकिनेछ ।

सेवालाई प्रभावकारी र व्यवस्थीत गर्नको लागि स्वास्थ्य केन्द्रले स्थानिय स्तरमा प्राबिधिक व्यक्ति तथा सामाग्री, छुट्टै कोठा र सुचना प्रणालीको व्यवस्था गर्नुपर्ने वी‍‍.पी.को टेलिमेडिसिन कार्यक्रमका प्राबिधिक अनिस भट्टराईले जानकारी दिनुभयो ।

 

सन् २०१४ बाट सुरु भएको कार्यक्रम छिटफुट रुपमा संचालन हुदै आएकोमा कोभिड १९ को कारण देश बन्दाबन्दीमा रहेको बेला अझ प्रभावकारी भए पश्चात यसको बिस्तारमा लागिएको बताउदै भट्टराईले मानसिक समस्या, शारिरीक समस्याको परामर्शको लागि बिशेषज्ञको सेवा प्रभावकारी रुपमा सहज तरिकाले पाउन सकिने बताउनुभयो ।
सेवा सुचारु गर्नेबारे बुधबार स्वास्थ्य केन्द्रमा स्थानिय निकायका प्रमुख, वी‍‍.पी.को टेलिमेडिसिन कार्यक्रमको प्राबिधिक टोली र स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठकले स्थानिय स्तरको व्यवस्थापन सम्पन्न भएपश्चात सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले आर्थिक अबस्था कमजोर भएका जनताको लागि याे सेवा सहुलियत हुने बताउनु भएको छ । स्थानिय स्तरबाट नै निशुल्क रुपमा सम्बन्धित रोगको बिशेषज्ञ सेवा जनताले पाउने भएकोले कार्यक्रमको सफलताको लागि नगरपालिकाले बजेट बिनियोजन गरेर काम गर्ने बताउनुभयो । आवश्यक प्राविधिक ब्यवस्थाका लागि नगरपालिकाले आजै देखि काम सुरु गर्ने र केही दिन देखिनै याे सेवा सुचारु गरिने जानकारी दिनुभयाे ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ३ का बडा अध्यक्ष देबराज चाम्लीङले सेवा सुचारु गर्न आबश्यक प्राबिधिक सामाग्री तथा जनशक्तीको व्यवस्थापन चाडै गर्ने बताउनुभयो । आबश्यक धेरै सामाग्री भएको भएता पनि सुरक्षित र सेवा संचालन गर्ने छुट्टै स्थानको व्यवस्थापनमा केही समय लाग्ने बताउदै छिट्टै यसको सेवा सुचारु हुने जनाउनु भएको छ ।

प्रदेश १ का बिभिन्न जिल्लामा संचालित यो कार्यक्रम यस अघि नै बेलबारी, पथरी लगायतका स्थानिय तहमा संचालन भैसकेको छ भने सुन्दरहरैचा नगरपालिकामा पनि बुधबारबाट नै सेवा सुरु गरिएको छ भने केरावारी गाउँपालिकामा समेत याे कार्यक्रम सुरु हुनेछ  ।

प्रकाशित मिति: २०२०-०६-१७ , समय : १७:२३:४१ , ४ वर्ष अगाडि