विराटनगरको कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पतालमा स्तरोन्नति गर्न ५० करोड

Enepal Patra Pvt. Ltd. , ३८३  पटक हेरिएको

विराटनगर, २ असार ।  प्रदेश १ सरकारले सोमबार प्रस्तुत गरेको आगामी बजेटमा विराटनगरस्थित कोशी अस्पताल अन्तरगतको कोभिड–१९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रका रुपमा स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार तथा भविष्यमा आउन सक्ने महामारीलाई मध्यनजर गर्दै सरकारले उक्त उपचार केन्द्रलाई स्तरोन्तति गर्न लागेको हो । विपदका कारण सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न तथा आवश्यक औषधि र उपकरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी झापास्थित मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलासिस र थप भेन्टिलेटरसहितको सुविधायुक्त प्रादेशिक अस्पताल निर्माणका लागि २३ करोड रुपैया“ विनियोजन गरिएको छ ।

धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनाका लागि विस्तृत संभाव्यता अध्ययन र पूर्वाधार विकासका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ । हाल ५० शैयामा सञ्चालित जिल्ला अस्पतालबाट प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटरसहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ ।

२५ शैयासम्मका अस्पतालहरूलाई स्मार्ट अस्पताल बनाई अक्सिजन प्लान्ट जडान, फोहरमैला निर्मलीकरणका लागि अटोक्लेप मेसिनको लागि स्रोतको प्रबन्ध गरिएको जनाइएको छ । समग्र अस्पतालहरुको सुदृढीकरण र सेवा विस्तारका लागि भन्दै सरकारले कुल १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हो ।

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि, भवन निर्माण, अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको व्यवस्थाका लागि ६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको हो ।

प्रकाशित मिति: २०२०-०६-१६ , समय : १२:४४:१९ , ४ वर्ष अगाडि