भ्रामक समाचारका पछि नलाग्न नगर प्रमुख राईको अनुरोध

Enepal Patra Pvt. Ltd. , १३२७  पटक हेरिएको

लेटाङ(मोरङ) ,३२ जेठ । केही दिन यता लेटाङका चिसाङ र तेली खोला अत्यधिक दोहन भएको विषयमा सामाजिक सञ्जालमा आएका विषयलाई लेटाङ नगरपालिकाले खण्डन गरेको छ ।
आइतबार नगर प्रमुख शंकर राईले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो र केही वडाध्यक्षको नाम जोडेर सामाजिक सञ्जालमा जथाभावि लेखेको विषयलाई खण्डन गर्नु भएको हो ।विज्ञप्तिमा लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरू समृद्ध लेटाङ नगर निर्माण गर्न लेटाङको कृषि र पर्यटनको कसरी विकास गर्न सकिन्न भन्नेमा सधैंं चिन्तित रहेको उल्लेख छ । नगरपालिकाले सम्पूर्ण मापदण्ड पुरा गरेर ईविडिङ प्रविधिबाट टेण्डर आह्वान गरी ठेक्का दिएको ध्यानाकर्षण गराउँदै पटक पटक जिल्ला समन्वय समिति मोरङले अनुगमन गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ –स्थानीय प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा खोला किनारमा बसोवास गर्ने नागरिकहरूको समेत सुरक्षामा ध्यान पु¥याउन आवश्यक छ । त्यसका लागि नगरपालिका चिन्तित रहेृको र मापदण्ड विपरित उत्खनन हुँदा पक्राउ गरी कारबाही गर्न जिल्ला समन्वय समिति पठाएको विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक स्रोत साधनको सुरक्षा र प्रयोगमा सिंगो नगरपालिका चिन्तित भई काम गरिरहेको छ । यस्तो अवस्थामा आफूलाई प्राकृतिक स्रोत साधन संरक्षणको हिमायती ठान्ने केही ब्यक्तिले कपोकल्पित , भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा हालेर आम नगरबासीम भ्रम सिर्जना गर्ने र जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने दुस्साहस गरेको भन्दै नगरपालिकाले त्यस्ता भ्रामक र गलत सूचनाका पछि नलाग्न नगरबासीलाई आह्वान गरेको छ । विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला लेटाङ नगरपालिका पनि अछुतो छैन् । गरिव विपन्न नगरवासीलाई राहत जुटाउने र भोक भोकै बस्नु नपरोस भन्ने नगरको पहिलो प्राथमिकता हो । कोरोनामुक्त नगर बनाउने अभियानमा रहेको बेला केही ब्यक्तिले नगरवासीको ध्यान अन्यत्र मोड्ने चेष्टा गरेको भन्दै नगरले खेद प्रकट गरेको छ ।

प्रकाशित मिति: २०२०-०६-१४ , समय : २१:४०:३३ , ४ वर्ष अगाडि