१८ जना क्वारेन्टिनबाट घर फर्के

Enepal Patra Pvt. Ltd. , १०७४  पटक हेरिएको

पथरीशनिश्चरे, २७ जेठ । मोरङको पथरीशनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये १८ जनाको स्वाब परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई मङ्गलबार घर पठाइएको छ ।
भारतबाट आएका नगर भित्रका १८ जनाको स्वाब सोमबार प्रदेशको कोभिड अस्पतालमा पठाइएको थियो । आज आएको रिपोर्टमा उनीहरु कसैमा पनि कोरोना भाइरस नदेखिएपछि घर पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको उहाँले बताउनु भयो ।
पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरुको विदाईका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका साथमा जिल्ला आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो । उहाँहरुले प्रदेश सरकारको ‘स्वास्थ्य जीवन कार्यक्रम’ अन्तर्गत त्यहाँ स्वास्थ्य सचेतना समेत प्रदान गरिएको छ ।
सवन्वय समिति प्रमुख पोखरेलका साथै आयुर्वेद टोलीले सधैं स्वास्थ्य सतर्कता अपनाउँदै योग, प्राणायाम गर्ने, खानपानमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोना सहितका रोगहरु टाढा भाग्ने जानकारी गराएको छ । आयुर्वेद टोलीले गुर्जाे, जेठी मधु जस्ता आयुर्वेदिक औषधि वितरण गर्दै त्यसखाले औषधिको सेवनले कोरोनाको संक्रमणलाई परास्त गर्न प्रतिरोध क्षमता बढ्ने सन्देश प्रवाह गरिएको छ । त्यहाँ रहेकाहरुको विदाईमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भारतबाट घर फर्किएकाहरुका लागि राखिएको क्याम्पसको क्वारेन्टिनमा रहेका अन्य ३१ जनाको पनि केही दिनमा स्वाब परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०६-०९ , समय : २१:२४:३१ , ४ वर्ष अगाडि