ढिकीजाँतो जस्तो घर

Enepal Patra Pvt. Ltd. , ६३८  पटक हेरिएको

म्याग्दी, २५ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा ढिकीजाँतो घर तयार भएको छ । कुटानी पिसानी कार्यमा प्रयोग हुने परम्परागत साधनको संरक्षणका साथै स्थानीयवासीको सुविधाका लागि ढिकीजाँतो घर बनाइएको हो । बेनी नगरपालिकाको रु चार लाख अनुदान र स्थानीयवासीको रु साठी हजारबराबरको श्रमदानमा घर निर्माण भएको हो ।

कृषि उपज सङ्कलन केन्द्रको भवन परिसरमा दुईवटा कोठा बनाइएको छ । घरमा दुईवटा ढिकी र एकवटा जाँतो राखिएको छ । परम्परागत र धार्मिक तथा सांस्कृतिक कार्यमा ढिकीजाँतोमा पिसेको र कुटेका वस्तु आवश्यक पर्छ । स्वास्थ्यका हिसाबले ढिकीजाँतोमा कुटानी पिसानी गरेको वस्तु उपयुक्त मानिन्छ । विद्युतीय कुटानी, पिसानी मिलको विकास भएसँगै ढिकी र जाँतो विस्थापित भएका थिए । प्राकृतिक उपचारस्थलका रुपमा विकसित तातोपानीवासीको सुविधाका लागि ढिकीजाँतो घर बनाएको उपभोक्ता समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो । यसबाट तल्लो तातोपानी बजार र राक्सेका १०० घरधुरी लाभान्वित भएका छन् । ढिकीमा धान, पिठो, फापर कुट्ने गरिन्छ । जाँतोमा मकै, गहुँ, कोदो र दाललगायत गेडागुडी पिस्ने गरिन्छ । दुई दशकअघिसम्म प्रत्येक टोलमा ढिकी हुन्थ्यो । घरैपिच्छे जातो हुन्थ्यो । पछिल्लो समय मिललगायतका उपकरणको विकास भएसँगै यी सामग्री हराउँदै गएका थिए ।

नयाँ पुस्ताका लागि ढिकीजाँतो अनौठो वस्तु बनेको छ । क्वारेन्टिनमा योग प्रशिक्षण क्वारेन्टिनमा बसेकाहरुलाई बेनीमा योग प्रशिक्षण सञ्चालन गरिएको छ । न्यू वेष्ट पोइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा बसेकालाई योग प्रशिक्षण दिन थालिएको हो । बेनी नगरपालिका र नवीन आनन्द योग केन्द्रले दैनिक एक÷एक घण्टाका दरले योग सिकाएका छन् । मानसिक तनावबाट मुक्ति र शारीरिक स्फूर्तिका लागि योग सिकाउन थालिएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो । “योगले मानिसलाई स्वस्थ बनाउनाका साथै रोगसँग लड्ने क्षमतासमेत बढाउँछ”, उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेकालाई आत्मबल बढाउन, निराशा र आलस्यता हटाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” नवीन जुग्जालीले योग सिकाउने गरेका छन् । सामाजिक दूरी कायम गरेर योग सिकाइएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा योग प्रशिक्षण चलाइएको हो । नाचगान गराउनाका साथै विभिन्न विधाका योग गर्न सिकाउने गरिएको छ । स्वस्थ खानपान र जीवनशैली अपनाउन आग्रह गरिएको छ । बेनीका क्वारेन्टिनमा भारतबाट आएका १३० जनालाई राखिएको छ ।

उनीहरुलाई म्याग्दी पुस्तकालयले अध्ययनका लागि पुस्तक उपलब्ध गराएको छ । कोरोनाको जोखिम र लकडाउनका कारण भारतमा रोजीरोटी गुमेर सिमानामा आएकालाई स्थानीय तहले गाडीको व्यवस्था गरेर बेनी ल्याउने क्रम जारी छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुईजनाको खुल्ला मञ्चस्थित शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेशनमा राखेर उपचार गरिएको छ । कोरोना सङ्क्रमितको उपचारमा आयुर्वेदिक औषधि प्रयोग गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मधुकरजी ढकालले बताउनुभयो । –––

प्रकाशित मिति: २०२०-०६-०७ , समय : १६:४०:३६ , ४ वर्ष अगाडि