मनिषा कोइराला भैरहवा नाका हुदै स्वदेश आइन्, सेनाको टोलीले गर्यो पिकअप

Enepal Patra Pvt. Ltd. , ४५१  पटक हेरिएको

काठमाडौ,  २० जेठ । बलिउड अभिनेत्री मनिषा कोइराला भैरहवा नाका हुदै स्वदेश आएकी छन् ।

नेपालले लम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

कोइराला आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

उनलाई नेपाली सेनाको एक टोलीले सीमा पुगेपछि तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन ।

‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,’ प्रजिअ पन्थले भने, ‘जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।’

मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए ।

मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।

प्रकाशित मिति: २०२०-०६-०२ , समय : २१:३८:१५ , ४ वर्ष अगाडि