जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने

Enepal Patra Pvt. Ltd. , ७२९  पटक हेरिएको

रेवती निरौला
जाँते (मोरङ), ३ जेठ। मोरङको लेटाङस्थित जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने भएको छ । तरकारी बालिको पकेट क्षेत्र भएपनि सिचाइँको अभावका कारण समस्या भइरहेका बेला प्रदेश सरकारको सहयोगमा सिचाइँ आयोजना सञ्चालन हुन लागेको हो ।

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते तरकारी बालिका लागि पकेट क्षेत्रको रुपमा चिनिएको छ । तर यो क्षेत्रमा सिचाइँको भरपर्दो व्यवस्था छैन । सोही कुरालाई मध्यनजर गरेर प्रदेश सरकारसँग पहल गरि डिप ट्युवेलमार्फत भूमिगत पानि तानेर सिचाइँ गराउने योजना अघि बढाइएको वडाध्यक्ष कृष्ण लुइँटेलको भनाइ छ ।

यो क्षेत्रमा तराइमा जस्तो सामान्य ट्वुवेल गाडेर पानी तान्न सक्ने अवस्था छैन । सोही कारण भूमिगत सिचाइँका लागि प्रदेश सरकारसँग पलह गरेर काम अघि बढाइएको उपभोक्ता समितिका सचिव नवराज ढकालले जानकारी दिनुभयो । सुरुमा ६० विगाहा क्षेत्रमा सिचाइँ पुर्याउने लक्ष्य रहेपनि पानीको मात्र अनुसार सिचाइँ क्षेत्र थपघट हुन सक्ने उपभोक्ता समितिका अध्यक्ष नन्दिकेशर निरौलाको भनाइ छ ।

आयोजनामा उपभोक्ताको ३ प्रतिशत लागत सहभागिता समेत रहेको छ । पहिलो वर्ष वोरिङ गाडेर पानि निकाल्ने काम सम्पन्न हुनेछ भने दोश्रो वर्ष पानी भण्डारणका लागि ट्यांकी निर्माण तथा पाइप विस्तारको काम अघि बढाइने छ । भूमिगत जलश्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय विराटनगरका मनोज विष्टले पहिलो चरणमा पानी निकाल्न मात्र १९ लाख ९८ हजार बजेट छुट्याइएको र दोश्रो वर्ष पाइप तथा विद्युत जडान समेत गर्दा ७५ लाखको हाराहारीमा बजेट लाग्न सक्ने जानकारी दिनुभयो । लामो समयदेखि दुखजिलो गरेर खेति किसानी गर्दै आएका किसानहरु प्रदेश सरकारले यसरी डिप ट्युवेलमार्फत सिचाइँ गर्ने व्यवस्था अघि बढाएपछि हर्षित भएका छन् ।

यस क्षेत्रको माटो तरकारी बालिका लागि निकै राम्रो भएपनि सिचाइँको अभावका कारण कृषकहरुले निकै समस्या झेल्नु परिरहेको छ । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले यहाँको प्रभावकारीता हेरेर नगरका अन्य ठाउँमा समेत सिचाइँका लागि डिप ट्युवेल निर्माण गर्ने योजना अघि बढाइने बताउनुभयो ।
कोरोना रोगको संक्रमणबाट बच्न देशव्यापी लकडाउन भएपनि सरकारले कृषि तथा निर्माण लगायत क्षेत्रलाई सहज बनाएसँगै डिप ट्युवेल निर्माणको काम अघि बढाइएको हो । कामदारहरुको स्वास्थ्य परिक्षण गरेर सुरक्षित रुपमा काम अघि बढाइएको उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०५-१६ , समय : १०:५०:३५ , ४ वर्ष अगाडि