एकैदिन थपिए २४ संक्रमित , नेपालमा कोरोना संक्रमिय संख्या १३४ पुग्यो

Enepal Patra Pvt. Ltd. , ५३६  पटक हेरिएको

काठमाडौं, ३० बैशाख । नेपालमा सोमबार एकैदिन २४ जना कोरोना संक्रमित थपिएका छन् । कपिलबस्तुमा १६ जना, रुपन्देहीमा ६ जना, सप्तरीमा १ जना र बर्दियामा १ जना गरि सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बिहान कपिलबस्तुमा १० जना र सप्तरीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा साँझसम्ममा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनु भएको छ । साँझ थपिएका विरामीहरुमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष रहेका छन् । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरि बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको छ ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । यसैबीच ठूलो संख्यमा संक्रमित देखिएसँगै कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: २०२०-०५-१२ , समय : ०६:२६:१९ , ४ वर्ष अगाडि