कोरोना भाइरसविरुद्ध ‘रेम्डिसिभियर’ औषधि प्रयोग गर्न अमेरिकी सरकारको स्वीकृति

Enepal Patra Pvt. Ltd. , ८५०  पटक हेरिएको

न्‍युयोर्क, २० बैशाख । कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।

अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ ९एफडीए०ले आपत्‌कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो । कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो । स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ । यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।
यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ । क्यालिफोर्नियामा अवस्थित ‘गिलियाड साइन्स’ नामक औषधि कम्पनीले बनाएको सो औषधिले कोरोना भाइरसलाई नष्ट गर्ने बिरामीमाथिको परीक्षण उपचारमा देखिएको छ । कम्पनीले प्रारम्भिक रुपमा एक लाख ४० हजार बिरामीका लागि औषधि बनाएको छ । सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक बनाइएको थियो । तर इबोला संक्रमणमा यसले खासै प्रभाव गर्न नसकेको बिज्ञहरुको तथ्यांक छ ।

शुक्रबार ओझल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रेम्डिसिभियर’ ले अस्पतालमा भर्ना भइरहेका कोभिड–१९ का बिरामीहरुका उपचारमा महत्वपूर्ण हुने बताए । ‘यो औषधिले आपत्कालीन रुपमा स्वीकृति पाउनु खुसीको विषय हो,’ राष्ट्रपतिले भने ।

सरुवा रोगसम्बन्धी अमेरिकी सरकारका प्रमुख विज्ञ डा। एन्थोनी फाउचीले परीक्षण नतिजाले उपचार विधिलाई आत्मसाथ गरे पनि कोभिड–१९ निर्मूल नै भइहाल्ने ग्यारेन्टी गर्न नमिल्ने बताएका छन् । पूर्ण उपचारका लागि भने भ्याक्सिन कुर्नुभन्दा अर्काे कुनै विकल्प नभएको विज्ञहरुले बताउँदै आएका छन् । विश्वमै कोभिड–१९ बाट सर्वाधिक संक्रमित अमेरिकामा हालसम्म एघार लाख बढी संक्रमित भइसकेका छन् भने करिब ६४ हजारको मृत्यु भइसकेको छ ।

 

(ईकान्तिपुर बाट)

प्रकाशित मिति: २०२०-०५-०२ , समय : ०८:३१:४८ , ४ वर्ष अगाडि