बलिऊड अभिनेता इरफान खान रहेनन्

Enepal Patra Pvt. Ltd. , ६३५  पटक हेरिएको

काठमाडौं १७, वैशाख । बलिऊड अभिनेता इरफान खान दिवङ्गत हुनुभएको छ । सानो पर्दाबाट अभिनयको दुणियाँमा पाइला टेक्नुभएका इरफान खान छोटो समयमै बलिऊडमा उत्कृष्ट अभिनेताको रुपमा स्थापित हुनुभयो । उहाँ ५३ वर्षको हुनुहुन्थ्यो । पेटमा संक्रमणको कारण मुम्बईको एक अस्पतालमा भर्ना हुनुभएका इरफानको बुधबार बिहान मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार इरफान खान क्यान्सर रोगबाट संक्रमित हुनुहुन्थ्यो । उहाँ सन् २०१८ बाट नै क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । यद्दपी उहाँका प्रवक्ताले मंगलबार चिकित्सकले निगरानीमा उहाँको उपचार भइरहेको जानकारी दिनुभएको थियो । इरफानको श्रीमति सुतापा र दुई छोरा बबिल र अयान हुनुहुन्छ । उहाँले पछिल्लोपटक ‘अंग्रेजी मीडियम’ फिल्ममा अभिनय गर्नुभएको थियो । मकबूल, पिकु र पान सिंह तोमर जस्ता बलिऊडका चर्चित फिल्ममा उहाँले अभिनय गर्नुभएको छ । बलिऊडका थोरै अभिनेतामध्ये उहाँले ‘स्लमडग मिलिओनर’, ‘इनफेरनो’ र ‘लाइफ अफ पी’ जस्ता हलिऊड फिल्ममा अभिनय गरेर आफ्नो अभिनय कलालाई विश्व रङ्गकर्ममा परिचित बनाउनुभएको थियो ।

इरफानको मृत्युको खबर आए लगत्तै भारतीय अभिनेताहरुले श्रद्धाञ्जली दिनुभएको छ ।

प्रकाशित मिति: २०२०-०४-२९ , समय : १७:४१:५५ , ४ वर्ष अगाडि