कानेपोखरी काङ्ग्रेसले प्रदान गर्याे ६ सय परिवारलाई राहत , अझै साडे ४ सय परिवारलाई प्रदान गर्ने

कार्यकर्ताले उठाए , २ लाख रुपियाँ

Enepal Patra Pvt. Ltd. , १३६९  पटक हेरिएको

प्रशान्त निरौला ,
मोरङ ८ बैशाख । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले शुक्रबार सुरु गरेको राहत वितरण कार्यक्रम सोमबार अपरान्ह सकिएको छ । गाउँपालिकाका वडा नं ४, ५, ६ र ७ का ६ सय परिवारलाई राहत वितरण गरेर पहिलो चरणको कार्यक्रम सकिएको हो । शुक्रबार वडा नं ७ का १ सय ५० विपन्न परिवारलाई राहत वितरण गरेको काङ्ग्रेसले शनिबार वडा नं. ४ मा आइतबार वडा नं. नं ६ मा र सोमबार वडा नं ५ मा राहत वितरण गरेको हो ।
कोरोना भाइरस फैलिन नदिन सरकारले पुरै देशमा लकडाउन घोषणा गरेको छ । यस विषम परिस्थितिमा विपन्न परिवार भोकै नहुन भनेर काङ्ग्रेसले राहत वितरण गरेको कानेपोखरी काङ्ग्रेसका सभापति योगेन्द्र दाहालले बताउनु भयो ।
निर्वाचन क्षेत्र नं. ३ अन्तरगतका ४ वटा वडाका ६ सय परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको सभापति दाहालले बताउनु भयो । काङ्ग्रेसले एकद्वार प्रणाली नमानेको हो भन्ने जिज्ञाषामा सभापति दाहालले भन्नुभयो – गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेसँग औपचारिक रुपमा सहमति भएपछि कांग्रेसले राहत वितरण गरेको हो । जनप्रतिनिधिबाट कुनै बिरोध छैन् । नेकपाले सामाजिक सञ्जालमा हल्ला गर्दा हामी बिचलित हुनु पर्ने अवस्था छैन । राजनीति प्रतिस्पर्धीको काम नै बिरोध गर्ने हो । दाहालले राहत वितरणमा राजनीति भन्दा माथि उठ्न आग्रह गर्दै भन्नुभयो – राहत हाम्रै गाउँबासी दाजुभाइले प्राप्त गर्नुभयो , भन्ने सोच नेकपाका साथीहरूमा आओस ।’
काङ्ग्रेस महासमिति सदस्य एवं नोवेल शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनील शर्माले ९ हजार केजी चामल, ६ सय किलो दाल ,६ सय थान सावुन उपलब्ध गराउनु भएको थियो । कानेपोखरी काङ्ग्रेसले कार्यकर्ताबाट सङ्कलित रकमबाट ३ सय लिटर खानेतेल र ६ सय किलो नून खरिद गरेको गाउँ कार्यसमिति सदस्य लीलाबहादुर श्रेष्ठले बताउनु भयो । बाँकी रहेका वडाहरूलाई राहत प्रदान गर्न काङ्ग्रेसले मङ्गलबार आकस्मिक बैठक राखेको छ । डाक्टर शर्माले कानेपोखरी गाउँपालिकालाई प्रदान गर्ने घोषणा गर्नु भएको ५ लाख रुपियाँ गाउँपालिकाले अस्वीकार गरेपछि सोही रकम बराबरको राहत डाक्टर शर्माले गाउँ काङ्ग्रेस मार्फत प्रदान गर्नु भएको हो । काङ्ग्रेस कार्यकर्ताले थप २ लाख रुपियाँ सङ्कलन गरी गाउँपालिका भरि कुल ७ लाख रुपियाँ बरावरको राहत वितरण गर्ने कार्यक्रम रहेको क्षेत्रीय सदस्य हिमप्रसाद तिम्सिना तिम्सिनाले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-२० , समय : १७:४६:२८ , ४ वर्ष अगाडि