कोरोनाभाइरस महामारी–१८ लाख ४८ हजार संक्रमित, एक लाख १४ हजारको मृत्यु

Enepal Patra Pvt. Ltd. , ५४१  पटक हेरिएको

काठमाडौं,१ वैशाख । विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट संक्रमित हुने १८ लाख ४८ हजार ५०३ पुगेको छ । विश्वभरि एक लाख १४ हजार १८५ जनाको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरि ७५ हजार १४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा करिब छ हजार संक्रमितको मृत्यु भएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयले जनाएको छ ।
म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पाँच लाख ५५ हजार ३९८ जनामा संक्रमणको पुष्टि भएको छ । विश्वविद्यालयले नयाँ संक्रमित, मृतक, निको भएका र परीक्षण गरिएका बिरामीहरु तथ्याङ्क सङ्कलन, अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । अमेरिकामा सोमबार बिहानसम्म पछिल्लो २४ घण्टामा करिब २७ हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा अमेरिका, फ्रान्स, रुस र भारतमा सबैभन्दा बढी छन् ।
अमेरिकामा शनिबार दुई हजार दुई, आइतबार एक हजार सात सयजना संक्रमितको मृत्यु भएको थियो । अमेरिकामा मृत्यु हुनेको संख्या दुईदिन यता स्थिर देखिएको छ ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित स्पेनमा समेत नयाँ संक्रमितको संख्यामा कमी आएको छ । सोमबार बिहानसम्म २४ घण्टामा मात्र तीन हजार नयाँ संक्रमित थपिएका छन् । स्पेनमा संक्रमित हुने एक लाख ६६ हजार ८३१ पुगेको छ । स्पेनपछि इटालीमा संक्रमित हुने एक लाख ५६ हजार ३६३ रहेको छ । फ्रान्समा एक लाख ३३ हजार ६७० जना कोरोनाभाइरसका संक्रमित छन् । जर्मनीमा एक लाख २७ हजार ८५४ जना संक्रमित छन् । जर्मनीमा तीन हजार २२ जनाको मृत्यु भएको छ ।
बेलायतमा मृतक दश हजार नाघ्यो
कोरोनाभाइरस संक्रमणले मृत्यु हुने आँकडा दश हजार नाघ्ने बेलायत चौथो यूरोपेली राष्ट्र बनेको छ । अमेरिका, इटाली, स्पेन, फ्रान्सपछि बेलायतमा कोरोनाभाइरस संक्रमणबाट करिब दशहजार ६१२ जनाको मृत्यु दत्र्ता गरिएको विश्वविद्यालयले जनाएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६५७ जना संक्रमितको मृत्यु भएको छ।
बेलायतमा कोरोनाभाइरस संक्रमित भने ८५ हजार २०६ पुगेको छ । संक्रमितको अपेक्षा मृत्यु दर यूरोपेली राष्ट्रमध्ये बेलायतमा सबैभन्दा बढी देखिएको छ ।
इरानमा ७१ हजार ६८६ र टर्कीमा ५६ हजार ९५६ जना संक्रमित भएका छन् । इरानमा चार हजार ४७४ जना संक्रमितको मृत्यु भएको छ । अर्को यूरोपेली राष्ट्र बेल्जियममा २९ हजार ६४७ जनामा संक्रमणको पुष्टि भएको छ । बेल्जियममा तीन हजार छसय जनाको मृत्यु भएको हो ।
रुस र भारतमा पछिल्ला दिनहरुमा नयाँ संक्रमित थपिनेको संख्यामा वृद्धि हुँदै आएको छ । आइतबारसम्म दश हजार मात्रै संक्रमित पुष्टि भएको रुसमा सोमबार बिहानसम्म १५ हजार ७७० जनामा संक्रमणको पुष्टि भएको छ । भारतमा संक्रमित हुने नौ हजार २०५ पुगेको छ ।

प्रकाशित मिति: २०२०-०४-१३ , समय : १३:४५:४५ , ४ वर्ष अगाडि