डाक्टर सुनीलद्वारा पथरीशनिश्चरे नगरको राहत कोषमा १ लाख ११ हजार प्रदान

Enepal Patra Pvt. Ltd. , १०११  पटक हेरिएको

बिराटनगर, २६ चैत । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी १ लाख ११ हजार रुपैंया सहयोग गर्नु भएको छ ।
। मोरङ ३ बाट प्रतिनिधि सभामा कांग्रेस उम्मेद्वार समेत रहनु भएका डा.शर्माले बिराटनगर स्थित आफ्नै निवासमा बुधबार पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यलाई संयुक्त रुपमा नगद हस्तान्तरण गर्नु भएको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताउनु भयो । ‘यो महामारीका बेला कोरोना भाईरसको संक्रमण रोकथामका लागि हामीले अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराएर सक्दो भूमिका निर्वाह गरिरहेका छौ । नगरस्तरमा पनि सहयोग गरौं भनेर रकम प्रदान गरेको हुँ ।’ डा.शर्माले भन्नुभयो ।
डा.शर्माले यसअघि पनि गरिब, बिपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आउनु भएको छ । शर्माले त्यस्ता हजारौं बिरामीलाई निःशुल्क उपचार गराइसक्नु भएको छ । कोरोना संक्रमण रोकथामका लागि पनि डा.शर्माले भूमिका निर्वाह गर्दै आउनु भएको छ । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाइ सकेको जानकारी समेत गराउनु भयो ।
कोरोना संक्रमण रोकथामकै लागि डा.शर्माले पूर्वी नेपालमै पहिलो पटक अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको बताउनु भयो

प्रकाशित मिति: २०२०-०४-०८ , समय : १७:३९:४१ , ४ वर्ष अगाडि