कोरोना बिरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सरकारलाई आग्रह

Enepal Patra Pvt. Ltd. , ७००  पटक हेरिएको

 

बिराटनगर, २४ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनील शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउँन सरकारलाई सुझाव दिनु भएको छ ।
विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उहाँले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औल्याउनु भएको हो ।

सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उहाँले सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्यका विज्ञहरु, संकट व्यवस्थापन विज्ञ लगायतको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय समिति बनाउँन सुझाव दिनु भएको हो । संकटका बेला सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले सरकारले मुलुक भित्रका सबै शक्तिहरुलाई रिझाएर नीतिगत आधार तय गर्न राजनीतिक तहमा र कार्यकारी तहमा विज्ञ विशेषको अर्को समिति बनाउँन उपयुक्त हुँने डाक्टर शर्माको सुझाव छ । कोरोनाको लक्षण ढिलो देखिने वा लक्षण नदेखिदै पनि संक्रमण फैलनसक्ने हुनाले खतरनाक स्थिति सिर्जना हुँनसक्ने प्रति सचेत गराउँदै उहाँले दुरगामी असर पर्ने अवस्थाबाट जोगाउँन सर्वपक्षीय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ ।
कोरोना बिरुद्धको अभियानको अग्रपंतिमा स्वास्थ्यकर्मीहरु नै हुने भएकाले उनीहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई उच्च बनोबलका साथ काम गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औल्याउँदै डाक्टर शर्माले कोरोना बिरुद्धको अभियान कुनै पार्टी बिशेषको मात्र नभई सवैको भएकाले मुलुकभित्र भएका सवैपक्षलाई एकढिक्का बनाएर यसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनु भयो । महामारीसँग जुध्ने बेलामा स्वास्थ्य सामग्री खरिदको बिषय विवादरहित बन्न नसक्नु र आर्थिक अपचलनको प्रश्न उठ्नु दुखद् भएको उल्लेख गर्दै उहाँले पारदर्शी रुपमा काम गर्न सरकारलाई सुझाव दिनु भएको छ । अहिले गम्भीर अवस्थामा मुलुक गुज्रिरहेकाले सरकारमा भएकाहरुले पनि विवादरहित र पारदर्शी काम गर्नुपर्ने उहाँको तर्क छ ।

काँग्रेस महासमिति सदस्यसमेत रहनु भएका डा.शर्माले अहिले आरोप प्रत्यारोप गर्ने बेला नभएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारी बिरुद्ध सरकारको अभियानमा सघाउँन कांग्रेससहित अन्य राजनीतिक दललाई पनि आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १७:३६:३३ , ४ वर्ष अगाडि