रुघाखोकीको सङ्क्रमण निको पार्ने ‘बजखार’ प्रयोग हुनै छाड्यो

Enepal Patra Pvt. Ltd. , ५५८  पटक हेरिएको

गोकर्ण दयाल

बैतडी, चैत ६ गते । रुघाखोकी जस्ता सङ्क्रमणमा औषधिका रुपमा प्रयोग गरिने बजखार अचेल प्रयोगमा आउन सकेको छैन । रुघाखोकी जस्ता सङ्क्रमण बजखारले एकदिनमै निको पार्ने भन्दै ग्रामीण भेगमा बजखारलाई चियापत्तीको रुपमा समेत प्रयोग गर्ने चलन थियो ।

बजखार बाजको रुखबाट निस्कने सिलाजित जस्तै पदार्थ हो । एकसयदेखि दुईसय वर्ष पुरानो बाजको रुखबाट बजखार निस्कने गर्छ । यो सुदूरपश्चिमको बैतडी लगायतका पहाडी जिल्लाको उच्च लेकाली भेगमा पाईन्छ । यो रुख समुद्री सतहबाट दुईहजारदेखि तीनहजार मिटरसम्म उचाईमा हुने गर्दछ ।

बैतडीको पाटन नगरपालिकाको ८ र ९ नम्बर वडाको खोड्पे क्षेत्र, सिगास गाउँपालिका –१ को विन्द्रावन, गाँजरी र सुर्नया गाउँपालिकाको सजबाँझदेखि पुरचौडी नगरपालिकासम्म बाजका ठूला ठूला रुखहरु प्रसस्त मात्रामा रहेका छन् । यो रुखको पातलाई घाँसका रुपमा विशेष गरि दूधालु भैंसीलाई खुवाउने चलन रहेको छ ।

बजारमा चियापत्ती नआउँदा बजखारकै चिया खानेको गरेको सिगास गाउँपालिका–१, ईरानाका धनवीरसिंह धामी स्मरण गर्नुहुन्छ । रुघाखोकी लागेको बेला र हात खुट्टा मर्केमा बजखारलाई तातोपानीमा उमालेर खाए अरु औषधि नै खानु नपर्ने धामी बताउनुहुन्छ । यसको स्वाद् टर्रो र थोरै नुनीलो हुने गरेको धामी बताउनुहुन्छ ।

रुघाखोकी जस्ता सङ्क्रमण निको पार्न घरेलु जडिबुटी प्रभावकारी हुने बैतडीका चर्चित वैद्य भोजराज भट्ट बताउनुहुन्छ । बजखार, तुलसी , चिराईतो, दाडीमको बोक्रा, ज्वानो, अदुवा, कागती, अमलार र पाखनवेद जस्ता जडिबुटी नियमित प्रयोग गर्न सके यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने र अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जस्ता सङ्क्रमण समेत लाग्नबाट बचाउने वैद्य भोजराज भट्टले बताउनुभयो ।

औषधीय दृष्टिले महत्वपूर्ण जडिबुटी मध्ये बैतडीमा ६५ भन्दा बढी बहुमूल्य जडिबुटी रहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । पाँच औले, पाखदवेद, सिमजडी, गुर्जो, टिमुर, अमला, चिराईतो, कौकौ, शीलाजित, लयात प्रतिन्धित अन्य जडिबुटी समेत रहेको डिभिजन वन कार्यालय बैतडीमा प्रमुख केशव पराजुलीले बताउनुभयो ।

बैतडी जिल्ला जडिबुटीको जति ठूलो खानी भए पनि जडिबुटीको सदुपयोग हुन नसक्दा बहुमूल्य जडिबुटी कुहिएर वा कौडीको भाउमा बारि गईरहेको वैद्य भोजराज भट्टको गुनासो छ । राज्यले समयमै ध्यान दिन सके जडिबुटी सम्बन्धी ज्ञान भएका वैद्यहरुबाट राज्यले लाभ लिनुपर्ने भट्टले बताउनुभयो ।
जडिबुटी प्रसोधन गर्न राज्यले सघाउने हो भने नेपालका विभिन्न भूगोलमा रहेका जडिबुटी र त्यो सम्बन्धी ज्ञान भएका वैद्यहरु काम गर्न तयार रहेको वैद्य भट्टले बताउनुभयो ।

जडिबुटी र जैविक विविधताले भरिपूर्ण रहेका बैतडीको ग्वाल्लेक र सिगास वन क्षेत्रलाई नेपाल सरकारले संरक्षित वन घोषणा गरेर संरक्षणको काम अघि बढिरहको छ । राज्यले सिगास गाउँपालिका–२, गाँजरीमा जडिबुटी प्रसोधनकेन्द्र स्थापना गर्ने भने पनि लामो समयदेखि जडिबुटी प्रसोधनको काम अघि बढ्न नसकेको स्थानीय देवसिंह धामीले बताउनुभयो । जडिबुटी प्रसोधन केन्द्र नहुँदा यो क्षेत्रमा भएका पाखनवेद,चिराईतो, सिमजडी लगायतका बहुमूल्य जडिबुटी चाउचाउ र कुरमुरेसँग साटेर व्यापारीले जिल्ला बाहिर लैजाने गरेको स्थानीयले बताएका छन् । (गाेरखापत्रदैनिकबाट)

प्रकाशित मिति: २०२०-०३-१९ , समय : १२:२६:१४ , ४ वर्ष अगाडि