नेकपाको उदाहरणीय जनश्रमदान

Enepal Patra Pvt. Ltd. , १६८०  पटक हेरिएको

कानेपोखरी(मोरङ),१ चैत । पछिल्लो समय जनश्रमदान हराउँदै गएको छ । जनश्रमदान मात्र होइन । पर्म ,पालो जस्ता सामाजिक सहयोगका कार्यक्रम हुन छोडेका छन् । तर, गत सोमबार मोरङको कानेपोखरी – २ दोमुखाबस्तीको दृष्य साँच्ची कै लोभलाग्दो थियो ।
पिताजीको मृत्युपछि दशगात्र किरियामा बस्नु भएकी सोही गाउँकी राधिका पौडेलको तोरी खेत मै खुरिएर खेर जान थालिसकेको थियो । एकातिर राधिका शोकमा हुनुहुन्थ्यो भने अर्को तर्फ हजारौं खर्चेर लगाएको बाली खेतमै नासिने अवस्था थियो । सोही मेसोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानेपोखरी २ नम्वर वडा समितिले खुरिएको सबै तोरी उखेलेर सोमबार नै खमार सम्म लगेर थन्क्याइ दिएको छ । नेकपाको वडा समितिको अगुवाईमा उक्त जनश्रमदान कार्यक्रम भएको थियो । जनताको पार्टी, राष्ट्रको सान । महिनाको एकदिन जनश्रमदान । भन्ने नाराका साथ वडा समितिले १ वर्षयता नियमित रुपमा अभियान सञ्चालन गरिरहेको छ ।
नेकपाका वडा संयोजक पर्शुराम खतिवडाले भन्नुभयो – ‘ २५ जना युवाले २ घण्टा लगाएर तोरी उखेल्ने,बाँध्ने र खमार सम्म ल्याएर थन्क्याउने काम ग¥यौं । झण्डै साडे ४ कट्ठा जग्गामा लगाएको तोरी सोमबार नै ब्यवस्थापन गरेको उहाँको भनाई छ ।
कानेपोखरी – २ का वडाध्यक्ष समेत रहनु भएका नेकपा कार्यकर्ता सुसील बुढाथोकीले पार्टीको यो अभियानले विपन्न, अप्ठ्यारोमा परेकाहरूलाई सहयोग पुगिरहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २०:४८:१९ , ४ वर्ष अगाडि