सुन्दरहरैंचामा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

Enepal Patra Pvt. Ltd. , ५४८  पटक हेरिएको

सुन्दरहरैंचा २९ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजनामा फागुन २० गतेदेखि सञ्चालन भएको तालिमको आज समापन गरिएको हो ।

सात दिनसम्म सञ्चालन भएको तालिमको संयोजन गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर इटहरीका प्रवन्ध निर्देशक तथा पत्रकार रेवती निरौलाले गर्नु भएको थियो भने तालिममा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका नाट्यकर्मी सोनु जयन्ती, सप्तकोशी एफएमकी सीमा बस्नेत र पूर्वाञ्चल व्रिटिस एजुकेशन इटहरीका म्यानेजिङ डाइरेक्टर नरेन्द्र दंगालले सहजिकरण गर्नु भएको थियो । तालिमको समापन कार्यक्रममा तालिममा सहभागि सबैलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले बोल्ने कलाको विकासका साथै नेतृत्व क्षमता अभिवृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप तालिम सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत जनाउनुभयो । तालिमको समापन मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष होमनाथ पोखरेलले ७ दिने नेतृत्व विकास तथा उद्घोषण तालिमले सहभागीहरुलाई बोल्न मात्र नसिकाएर आफ्नो लक्ष्य निर्धारण गर्न समेत सिकाएको बताउनुभयो ।

समापन कार्यक्रममा तालिममा सहभागी आधा दर्जन बढीले समेत आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले सुरुमा अगाडी आएर केही पनि बोल्ननसक्ने अवस्थामा रहेकोमा तालिम लिएपछि आफूहरुमा आत्मविश्वास पलाएको भन्दै तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: २०२०-०३-१२ , समय : ११:०६:३० , ४ वर्ष अगाडि