गोठ आगलागीमा मृत्यु भएका राईको शव परिवारको जिम्मा

ईनेपालपत्र संबाददाता , १७  पटक हेरिएको

खोटाङ, २८ कात्तिक। आगलागीमा परेर ज्यान गुमाएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको शव परीक्षण (पोस्टमार्टम) पछि परिवारको जिम्मा लगाइएको छ। जिल्ला अस्पताल खोटाङमा बिहीबार शव परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेका हुन्।
बाँझेच्यानडाँडाको रातमाटेस्थित आफ्नै बारीको गोठमा एक्लै बस्दै आउनुभएका राई बुधबार जलेर मृत फेला पर्नुभएको थियो। परिवारका सदस्यहरूका अनुसार उहाँ विगत एक वर्षदेखि सुन्तलाखेती र सुङ्गुरपालनको रेखदेख गर्दै गोठमा बस्दै आउनुभएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चिसो छल्न वा खाना पकाउन अगेनामा बालेको आगो सल्किएर गोठमा आगलागी भएको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। एकान्त स्थानमा गोठ भएकाले आगलागी भएको समयमा कसैले थाहा नपाउँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको निष्कर्ष छ।
घटनापछि साकेला गाउँपालिकाले पीडित परिवारलाई किरिया खर्च तथा आवश्यक राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको वडाध्यक्ष हेमन राईले बताउनुभयो। स्थानीय प्रशासनले सुक्खा मौसम सुरु भएकाले एकान्तमा रहेका गोठ तथा घरहरूमा आगो बाल्दा विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-११-१४ , समय : १०:४८:३४ , १० मिनेटutes अगाडि