ईनेपालपत्र संबाददाता , २० पटक हेरिएको
काठमाडौँ, २८ कात्तिक २०८३ । नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनलाई लिएर दुईवटा समानान्तर शक्ति केन्द्र निर्माण भइरहेका बेला नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गर्नुभएको छ।
संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको र पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला दुवै पक्षको प्रक्रियाबाट अलग रहनुभएका नेता कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउन मध्यमार्गको बाटो रोज्नुभएको हो। छठ पर्वपछि काठमाडौँ फर्किएलगत्तै उहाँले आफ्नो समूहका नेताहरूसँग छलफल गरी अभियानको ठोस स्वरूप तय गर्ने उहाँको सचिवालय र निकट नेताहरूले जनाएका छन्।
कोइरालानिकट नेता सञ्जयकुमार गौतमका अनुसार विशेष महाधिवेशन र समानान्तर गतिविधिले पार्टीलाई विभाजनको जोखिममा पुर्याएको कोइराला समूहको निष्कर्ष छ। ुअदालतले जे फैसला गरे पनि पार्टी विभाजित मानसिकतामा पुगिसकेको छ,ु नेता गौतमले भन्नुभयो, ुकुनै एक पक्षको जितभन्दा पनि समग्र कांग्रेसको पुनर्निर्माण आजको मुख्य आवश्यकता हो, त्यसैले हामी एकता अधिवेशनको विकल्प छैन भनेर दुवै पक्षलाई भनिरहेका छौँ।ु
पुराना राजनीतिक शक्तिहरूलाई विस्थापित गर्ने चुनौती बढिरहेका बेला कांग्रेस आफैँ विभाजित भएर अलग–अलग कित्तामा उभिँदा पार्टीको वैचारिकता, निष्ठा र इतिहास गुम्ने खतरा रहेको कोइराला पक्षको बुझाइ छ। नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि व्यक्तिगत संवादमा मात्र सीमित नरही अब तल्लो तहका नेता तथा कार्यकर्ताबीच बहस र संगठन निर्माणसहित देशव्यापी एकता अभियान चलाउने विषयमा गृहकार्य भइरहेको पुष्टि गर्नुभएको छ।
प्रकाशित मिति: २०२६-११-१४ , समय : ११:०२:४७ , १७ मिनेटutes अगाडि