कोरोना भाइरसः चीन र भारतसँग सीमा जोडिएका ३७ जिल्ला बढी जोखिममा, तातोपानी नाकाका स्थानीय त्रसित

Enepal Patra Pvt. Ltd. , ५१९  पटक हेरिएको

सिन्धुपाल्चोक,२३ फागुन । कोरोना भाइरसको उच्च जोखिमको सूचीमा नेपाल पनि परेपछि चीन र भारतसँग सीमा जोडिएका ३७ जिल्लामा अझै बढी त्रास बढेको छ ।

सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी सचेतना नबढाएको भन्दै सीमावर्ती क्षेत्रका स्थानीयले पनि गुनासो गरेका छन् ।

कोरोना भाइरसको त्रासले नेपाललाई पनि तरंगित बनाएको छ । त्यसमध्ये पनि चीनसँग नाका जोडिएका स्थानीय बढी त्रसित बनेका छन् ।

सरकारले नाका बन्द गर्नको लागि सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयलाई आधिकारिक पत्राचार नगरे पनि गत माघ १७ गतेदेखि तातोपानी भन्सार कार्यालय बन्द गरिएको छ ।

सीमा क्षेत्रका स्थानीयवासी कोरोनाको त्रासले सभा समारोह र भेलामा सहभागी हुन छाडेका छन् । अहिले सीमा क्षेत्रका स्थानीयले अझै केही महिना तातोपानी नाका नखोल्न भन्दै सरकारी निकायसमक्ष माग गरिरहेका छन् ।

तातोपानी नाका बन्द भए पनि सरकारी पक्षको बेवास्ताका कारण त्रास कायमै रहेको स्थानीय रामकृष्ण विकको गुनासो छ ।

तातोपानी नाका जोखिम अन्त्य नभएसम्म सञ्चालन गर्न नहुने स्थानीयको आग्रह छ । गत माघ १६ बाट तातोपानी नाकाबाट सामान आवतजावत भएको छैन ।

अहिले नाका पूर्ण रुपमा बन्द भएको भन्दै आगामी दिनमा मन्त्रालयको निर्देशन अनुसार अघि बढिने तातोपानी भन्सार कार्यालयका कर्मचारी उमेश भट्टको भनाइ छ ।

कोरोना भाइरसबाट बच्न घरेलु रुपमा अपनाउन सकिने उपायकाका बारेमा भोटेकोशी गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नाका बन्द भएकाले हेल्थ डेस्कमा प्राविधिक नराखिएको भए पनि स्वास्थ्य विभागबाट आवश्यक जनशक्ति आइसकेको भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र श्रेष्ठको भनाइ छ ।

सचेतना अपनाए आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले जनाए पनि अनावश्यक त्रास फैलिँदा मानिसमा अस्वाभाविक त्रास फैलिएको देखिन्छ ।

प्रकाशित मिति: २०२०-०३-०६ , समय : १२:०२:५१ , ४ वर्ष अगाडि