नेपालको लगातार दोस्रो हार, हङकङबाट ४३ रनले पराजित

Enepal Patra Pvt. Ltd. , ४३८  पटक हेरिएको

काठमाडौं,१८ फागुन। एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि नेपालले हार बेहोरेको छ । हङकङले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेल्न नपाउँदै १८ ओभर एक बलमा मात्र १११ रनमा समेटिन पुग्यो । र नेपालले ४३ रनले हार बेहोर्नुपर्यो ।
नेपालका लागि ओपनिङ गर्नुभएका ज्ञानेन्द्र मल्ल र कुशल मल्लले उत्कृष्ट सुरुवात गर्दागर्दै मध्यक्रम पुनः रन जोडन असफल हुँदा नेपालले अपेक्षाकृत कमजोर विपक्षी हङकङबाट पनि हार बेहोर्न पुगेको हो । कप्तान ज्ञानेन्द्र मल्लले मात्र ४३ बलमा ४६ रनको योगदान गरेपनि जितका लागि अपर्याप्त रह्यो । कुशल मल्ल १९ रन बनाएर पेभेलियन फर्किनुभयो । पारस खडका चार रन बनाएर आउट हुनुभयो । मध्यक्रममा दिपेन्द्रसिंह ऐरी पाँच, पवन सर्राफ १, बिनोद भण्डारी र मोहम्मद आरिफ शेष पुनः असफल हुनुभयो ।
१७ औं ओभरमा १०० रनमा नौ विकेट गुमाउँदा अविनाश बोहराले केही उत्कृष्ट शट लगाएपनि नेपालको जित निकै टाढिसकेको थियो ।
हङकङका लागि मोहम्मद हारुन अरशद चार ओभरमा १६ रन खर्चेर महत्वपूर्ण पाँच विकेट लिनुभयो । आफताब हुस्सैनले १४ रन खर्चेर तीन तथा एहसान खानले १८ रन खर्चेर दुई विकेट लिनुभयो ।
यसअघि हङकङले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५५ रन बनाएको हो । टर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको हङकङले उत्कृष्ट सुरुवात गरेको थियो । पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको हङकङ सुरुको दश ओभरमा ८४ रन जोड्दा मात्र दुई विकेट गुमाएको थियो । शाहिद वासिफ र निजाकत खानले पहिलो विकेटका लागि अद्र्धशतकीय साझेदारी गर्नुभयो । शाहिद २६ रन बनाएर पेभेलियन फर्किनुभयो । निजाकत खानले मात्र २९ बलमा ४८ रनको विष्फोटक पारी खेल्नुभयो । दुबैजनालाई सुशनले एकै ओभरमा पेभेलियन फर्काएपछि खेलमा नेपालले वापसी गरेको थियो ।
हारुन अरशदलाई २७ रनको ब्यक्तिगत् योगफलमा कुशल मल्लले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आउनुभएका किञ्चित शाहलाई सन्दीपले खाता खोल्न नपाउँदै दिपेन्द्रसिंह ऐरीको हातमा क्याच थमाइ आउट गर्नुभयो । ऐजाज खान २९ रन बनाएर रन आउट हुनुभयो । जैमी एकिञ्सनले १४ बलमा १३ रन बनाउँदै सन्दीपकै बलमा आउट हुनुभयो । सन्दीप लामिछाने र सुशन भारीले सामान दुई दुई विकेट लिनुभयो । सन्दीपले चार ओभरमा मात्र २५ रन खर्चिनुभयो । नेपालका प्रमुख बलरहरु करण केसी र अविनाश बोहरा लगातार दुई खेलमा प्रभावकारी प्रदर्शनकारी गर्न नसक्दा विपक्षी टोलीले औसत योगफल तयार गर्न सफल भएको हो ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १३:१२:५४ , ४ वर्ष अगाडि