नेपाली संक्रमित छैनन्, सचेत रहन आग्रह

Enepal Patra Pvt. Ltd. , ४३९  पटक हेरिएको

काठमाडौं, ११ फागुन । कोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ ।
दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाका कतिपय सहरमा कोरोनाको संक्रमण देखा परे पनि यहाँ रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको बताउनुभयो ।
कोरिया सरकार र राजदूतावासले भने अनुसार सावधानी अपनाए संक्रमणको जोखिममा पर्ने खतरा नरहेको उहाँले बताउनुभयो ।
बाहिर विभिन्न हल्ला आईरहेको बेला बास्तोलाले कोरिया सरकार कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म तरिकाले काम गरीरहेकाले चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।
यहाँ कार्यरत नेपाली कोरोनाको संक्रमण कारण नेपाल फर्कने इच्छा कसैले नराखेको पनि उहाँले जानकारी दिनुभयो ।
धेरै संक्रमण थेगु भन्ने शहरमा देखा परेको जानकारी दिँदै अन्य सहरमा त्यति धेरै प्रभावित नपारेको बास्तोलाले बताउनुभयो ।
थेगु भन्ने शहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उहाँले जानकारी दिनुभयो । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले गोरखापत्र अनलाईनलाई जानकारी दिर्नुभयो ।
दूताबासले आईतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा चेक जाँच तथा उपचार गराउन र सो क्रममा पक्राउ नगर्ने व्यस्था मिलाइएको दूतावासले जारी सूचनामा उल्लेख छ ।
साथै अवैधानिक नागरिकलाई पनि स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियत वारेमा नसोध्न अस्पताललाई निर्देशन दिइएको सम्बन्धमा कोरियाको अध्यागमन विभागले गरेको लिखित पत्रचार बारे प्रेषित गरिएको दुतावासले जानकारी गराएको छ ।
त्यसै गरी, दूतावासले यस अघि पनि सूचना मार्फत कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरियाली सरकार र सम्वद्ध स्वास्थ्य निकायले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन हाल दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

के भन्छन् कामदार

इपिएस प्रणाली मार्फत रोजगारीको लागि दक्षिण कोरियामा काम गर्दै आएका अर्घाखाँचीका प्रकाश पोखरेल अहिले नै नेपालीहरू आत्तिहाल्ने अवस्था नरहेको बताउनुहुन्छ ।
थेगु क्षेत्रमा अलि संक्रमण बढी भए तापनि अन्य ठाउँमा फाटफुट मात्र देखा परेको पोखरेल बताउनुहुन्छ ।
कोरिया सरकार र नेपाली राजदूतावासले पनि शंका लाग्दा वितिकै हस्पिटल जान आग्रह गरेको उहाँ बताउनुहुन्छ ।
कोरियाली सरकारले स्वास्थ्य व्यवस्था राम्रो बनाएकोले बाहिर मिडियामा आए जस्तो यथार्थ त्यस्तो नरहेको प्रकाश बताउनुहुन्छ ।

४० नेपालीको उडान स्थगित

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ ।
उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा थिए । कोरोनाको प्रकोप फैलिरहेको स्थानमा नेपालबाट हामीले पठाउन पनि भएन इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले भन्नुभयो,“यो अवस्थामा कोरियाबाट पनि नेपाली कामदार ल्याउनु हुदैन भन्ने छ ।” उहाँले कोरोनाको प्रकोप घटेपछि भने नेपाली कामदार पठाइने जानकारी दिनुभयो ।
रोष्टरमा नाम आई कोरिया जाने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका थिए ,प्रमुख खनालले भन्नुभयो,“कोरियामा कोरोनाको सन्त्रास बढेपछि तत्काललाई कोरिया जाने मिति सारिएको ।”
उहाँले केही दिन अघिसम्म कोरियामा कोरोनाको खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिँदै कोरिया पठाउने तयारी गरिएको जानकारी पनि दिनुभयो ।
। कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् ।
इपिएस शाखा प्रमुख खनालले अर्को मिति प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी पनि दिनुभयो ।
कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिएको भाषा परीक्षा उत्तीर्ण गरेर कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ ।
खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ ।

प्रकाशित मिति: २०२०-०२-२४ , समय : ०६:०७:४७ , ४ वर्ष अगाडि