मन्त्रीसँग कुराकानी भएको भन्ने अडियो सार्वजनिक गर्ने मिश्रमाथि कारवाही गर्न लेखा समितिको निर्देशन

Enepal Patra Pvt. Ltd. , ५२५  पटक हेरिएको

 

काठमाडौँ,८ फागुन । सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट सदस्यहरूको चरित्र हत्याको प्रयास गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दुई व्यक्तिलाई साइबार अपराधमा कारबाहीका लागि निर्देशन दिएको छ ।
सेक्युरिटी प्रिन्टिङको खरिद प्रक्रियाबारे विचाराधीन विषयसँग जोडेर सदस्यहरूको चरित्रहत्या गरेको भन्दै समितिले कारबाहीका लागि निर्देशन दिएको हो । छानबिनका लागि पत्राचार गरेकामध्ये एक खरिद प्रकरणमा तत्काल बहालवाला मन्त्रीसँग कुराकानी गरिएको भनिएको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्र पनि हुनुहुन्छ ।
सार्वजनिक लेखा समिति सचिव डा। रोजनाथ पाण्डेले समितिको निर्णयबारे प्रहरीको ‘‘साइबर क्राइम अनुसन्धान ब्यूरो’लाई जानकारी पठाइएको बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘समितिको निर्देशनबारे प्रहरीलाई औपचारिक रूपमा जानकारी गराइसकिएको छ ।’
मिश्रले एक अनलाइनमा प्रकाशित समाचारमा समिति सदस्यहरूले जर्मन कम्पनीसँग कमिशन खानेगरी खरिद प्रक्रियाको निर्णय गर्न लागेको टिप्पणी गर्नुभएको छ । अर्का फेसबुक प्रयोगकर्ता प्रभात किशोर उपाध्यायले फेसबुकमा सांसदहरूको फोटोसहितको पोस्ट गर्नुभएको छ । उपाध्यायले पनि जर्मन कम्पनीसँग चार अर्ब रुपियाँ कमिसन खाएर लेखा समितिले निर्णय गर्न लागेको उल्लेख गर्नुभएको छ ।
उपाध्यायले सांसदहरू मीना सुब्बा, डा। मीनेन्द्र रिजाल, विनादेवी बुढाथोकी, विरोध खतिवडा, मैनाकुमारी भण्डारी, विशाल भट्टराई, मोहन आचार्य समेतको फोटोसहित चार अर्ब रुपियाँ खाएर निर्णय गर्न लागेको पोस्ट फेसबुकमा गर्नुभएको थियो ।
यस्तै, मिश्रले समेत अडियो बाहिर नल्याएको भए जर्मन कम्पनीलाई विहीबारै समिति बैठकबाट कमिसन खानेगरी सेटिङ भइसकेको अनलाइन समाचारमा टिप्पणी गर्नुभएको छ । अडियो बाहिर ल्याएर भ्रष्टाचार हुन रोकेको दाबी मिश्रको छ ।
यसैबीच समितिले सेक्युरिटी खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । खरिद प्रक्रियाबारे पनि प्रश्न सार्वजनिक भएपछि समितिको बिहीबारको बैठकले प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । सोसम्बन्धी निर्णयको जानकारी समितिले बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाइसकेको छ ।

प्रकाशित मिति: २०२०-०२-२० , समय : २१:३०:२१ , ४ वर्ष अगाडि