सुर्तीजन्य वस्तुको बिक्री वितरणमा राेक

Enepal Patra Pvt. Ltd. , ५८३  पटक हेरिएको

विराटनगर  २७ माघ ।प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले आइतबारदेखि शैक्षिक संस्थाको सय मिटर वरपर सुर्तीजन्य वस्तु बिक्री र प्रयोग निषेध अभियान थालेको छ ।

विराटनगरका ६ वटा उच्च मावि तथा क्याम्पसहरूमै गएर अभियान चलाइएको छ । क्याम्पस हाताभित्र विद्यार्थीलाई भेला गराई सुर्तीजन्य वस्तुको प्रयोगबाट हुने असर र कानूनी कारबाही बारेमा जानकारी गराइएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेयर भीम पराजुली विद्यार्थीसँगै आसपासका पसलमा गएर सुर्तीजन्य वस्तु हटाउन लगाएका छन् ।

नगरपालिका र मन्त्रालयका कर्मचारीले शैक्षिक संस्थाका वरपर फित्ता लगाएर १ सय मिटर नापेर चिन्ह लगाएका छन् । त्यसभित्र सुर्तीको सेवन गर्नेलाई पनि जरिवाना गरिने मोरङ प्रहरीले जनाएको छ ।

सुर्तीजन्य वस्तु बिक्री वितरण गरे कारवाही हुने पसलेहरूलाई बताउँदै मन्त्री घिमिरेले पसलमा भएका खैनी, गुट्खा, जर्दा लगायत वस्तु हटाउन लगाए ।

मन्त्री र मेयरले पसलहरूबाट सुर्तीजन्य वस्तु हटाउन लगाउँदा विद्यार्थीले नाराबाजी गर्दै कदमको स्वागत गरे । शैक्षिक संस्थाका प्रमुखहरूले आइतबारबाट नै क्याम्पस आसपासमा सुर्ती निषेध हुने घोषणा गरे ।

क्याम्पस आसपास सुर्ती निषेधित क्षेत्रका लागि १ सय मिटर नापिंदै

क्याम्पसहरूले सुर्तीजन्य वस्तु निषेध गरिएका ब्यानर अनिवार्य राख्नु पर्ने व्यवस्था छ । शैक्षिक संस्था, सरकारी कार्यालय, मन्दिरहरूमा सुर्ती निषेधको सूचना नराखे कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

शैक्षिक संस्था, सार्वजनिक स्थल, सरकारी कार्यालय र मन्दिर आसपास सुर्तीजन्य वस्तुको प्रयोग नियन्त्रणमा मन्त्रालयले विभिन्न योजना बनाएको छ ।

आगामी १ फागुनबाट प्रदेश १ मा सुर्ती सम्बन्धी कानून कार्यान्वय गरिने भएको छ । पहिले मोरङ जिल्लाबाट कारवाही थालिने जानकारी दिंदै मन्त्री घिमिरेले आगामी १ वैशाखबाट प्रदेशभरि नियन्त्रण गरिने बताए ।

सामाजिक विकास मन्त्रालयले २०७५ चैतबाटै मन्त्रालयमा सुर्ती लिएरै प्रवेश गर्न नपाउने नियम लगाएको छ । केही महीनासम्म मन्त्रालयको गेटमा सेवाग्राहीको गोजी छामेर सुर्तीजन्य वस्तु पाइए फाल्न लगाइने गरिएको छ  ।  हिमाल खबरबाट

 

प्रकाशित मिति: २०२०-०२-१० , समय : १२:५३:५९ , ४ वर्ष अगाडि