साझेदारी र सामूदायिक वनको द्वन्द्व समाधान गर्नुपर्ने

Enepal Patra Pvt. Ltd. , १४३३  पटक हेरिएको

हरि कोइराला
उर्लाबारी, २५ माघ । प्रदेश सभा सांसद कुलप्रसाद साम्वाले साझेदारी वन र सामूदायिक वन बीचको द्वन्द्व समाधान गर्नु पर्नेमा जोड दिनु भएको छ ।
पथरीशनिश्चरे साझेदारी बन ब्यवस्थापन समूहको चौथो वार्षिक साधारण सभाको बुधबार मोरङको उर्लाबारीमा उद्घाटन गर्दै सांसद साम्वाले सो कुरा बताउनु भएको हो । उहाँले बनमा सबै क्षेत्र र भूगोलका बासिन्दाको पहुँच समान रुपमा पु¥याउन राज्यले साझेदारी बनको अवधारणा ल्याएको उल्लेख गर्नुभयो । बनको उपभोग बनको वरिपरि बस्नेले मात्र गर्दा हरियो वन नेपालको धन भन्ने नारा सार्थक नहुने बताउँदै उहाँले सामूदायिक वनमा केही ब्यक्ति हाबी हुँदा समस्या उत्पन्न भईरहेको धारणा राख्नुभयो ।
प्रदेश सरकारले बन ऐन ल्याउने तयारी गरिरहेको बताउँदै उहाँले ऐन आएपछि नियमावलि बनाएर सबैखाले बनलाई ब्यवस्थित गरिने उल्लेख गर्नुभयो । साझेदारी वन उपभोक्ताले चलाउने जिकीर गर्दै सरकार र सरकारी कर्मचारीले चलाएको भनेर हल्ला गर्दैमा त्यसको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले नामले मात्र साझेदारी भएर नहुने भन्दै सबैलाई अपनत्व हुने गरी काम गर्न सुझाव दिनुभयो । पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईले वन क्षेत्र सँग जोडिएका अपार सम्पदालाई उपयोग र संरक्षण गरी त्यसलाई अर्थाेपार्जनमा जोड्न आग्रह गर्नुभयो ।
पथरीशनिश्चरे साझेदारी वन ब्यवस्थापन समूहका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा १ नं. प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राई, डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे, सुनवर्सी नगरपालिकाका उप प्रमुख मञ्जुकुमारी राई लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०२-०८ , समय : १९:५३:१७ , ४ वर्ष अगाडि