छवटा हिमाल सफा गरिँदै

Enepal Patra Pvt. Ltd. , ५५७  पटक हेरिएको

काठमाडौँ, २१ माघ । नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताउनुभयो ।

यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् । हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रवक्ता जोशीले जनशक्ति लगायतका पूर्वाधारको अभावका कारण हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको जानकारी दिनुभयो । वातावरण विभागले भने सहयोगी निकायको भूमिका निर्वाह गर्नेछ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, “तीन चरणमा सरसफाइको काम पूर्ण गर्ने योजना बनाएका छौँ । हिमाल सफा हुनु भनेको देशकै सरसफाइ हुनुजस्तै हो । हामी सबैसँगको सहकार्यमा अग्रसर छौँ ।”

उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयले नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलाई बजेटसमेत उपलब्ध गराइसकेको छ । तीन चरणमा सन् २०२० भित्र छवटा हिमाल सफा गरिसक्ने योजना नेपाली सेनाले बनाएको छ । उहाँले अहिले पूर्वतयारी र अन्तरमन्त्रालय समन्वयका लागि विभिन्न निक९ायसँग छलफल भइरहेकोे बताउनुभयो ।
हिमाल सरसफाइ गर्न आवश्यक उपकरण र स्रोत सामग्रीको बोलपत्र प्रक्रिया जारी रहेको पाण्डेले जानकारी दिनुभयो । “विभिन्न छवटा समूह बनाएर हिमाल सफाइका लागि जुट्दैछौँ, पहिलो चरण अन्तर्गत फागुन ३ गते जनशक्तिको प्रारम्भिक छनोट हुनेछ,” पाण्डेले थप्नुभयो । त्यस्तै फागुन ८ गते समूह संयोजकको छनोट गरिनेछ । फागुन २२ गते सहयोगी सङ्घसंस्था तय गरिनेछ ।
दोस्रो चरण अन्तर्गत भने हिमाल सरसफाइ गर्न छनोट गरिएको जनशक्तिलाई चार हप्ताको विशेष तालिम दिइनेछ । तालिमका क्रममा हिमाल सरसफाइमा जाँदा अपनाउनुपर्ने सावधानी, काम गर्दा ध्यान दिनुपर्ने कुरा, सरसफाइको योजनासँग साक्षात्कारसँगै उनीहरूलाई उत्प्रेरित गरिनेछ ।
दोस्रो चरण सकिएपछि तेस्रो चरणमा बल्ल हिमाल सरसफाइ अभियान सुरु हुनेछ । जसअनुसार चैत २० गते हिमाल सरसफाइका लागि छवटै टोली आफ्नो गन्तव्यतर्फ लाग्ने सेनाका प्रवक्ता पाण्डेले बताउनुभयो । नयाँ वर्ष २०७७ को वैशाख ३ गतेदखि डेढ महिनासम्म हिमाल सरसफाइ अभियान चल्नेछ । सगरमाथासहित छवटा हिमालबाट करिब ४५ हजार किलो फोहोर सङ्कलन गर्ने योजना नेपाली सेनाको छ ।
योजनाअनुसार सगरमाथा, ल्होत्से र पुमरी हिमालको बेसक्याम्पमाथि १० हजार किलो र बेसक्याम्प तल आसपासबाट थप २० हजार किलो गरी कुल ३० हजार किलो फोहोर सङ्कलन गरिनेछ । मकालु हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र बेसक्याम्प तलबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुने अनुमान छ ।

त्यसैगरी धवलागिरि हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र तलको क्षेत्रबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुनेछ । आमादब्लम हिमालको बेसक्याम्पमाथि तीन हजार किलो र तलका क्षेत्रबाट दुई हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन गरिने लक्ष्य राखिएको छ । नेपाली सेनाले विश्व वातावरण दिवस ९जुन ५०का दिन सङ्कलित फोहोर हस्तान्तरण गर्ने कार्यक्रम बनाएको छ ।

प्रकाशित मिति: २०२०-०२-०४ , समय : ११:०४:१३ , ४ वर्ष अगाडि