असुरक्षित हुँदै बन्यजन्तु,जङ्गलमा न वास रह्यो न ,खानेकुरा

enepalpatra , ४८९  पटक हेरिएको

सडक दुर्घटनामा मरेको हरिण

हरिप्रसाद कोइराला,
कानेपोखरी,२८ चैत । जङ्गली जनावर बस्ने घना जङ्गल (पशुजनावरको बसोबास क्षेत्र) मानिसहरूको अतिक्रमण परेपछि जङ्गली जनावरहरू समेत असुरक्षित हुन थालेका छन् ।
एकातिर जङ्गलसँग आश्रित मानिसहरूको सङ्ख्या बढ्दै गएको छ । अर्कोतर्फ वैज्ञानिक वनका नाममा सर्पट कटान हुने र साल,कर्मा,अस्ना बाहेक अरु वनस्पतिको संरक्षण नगर्ने सामूदायिक वनको नीतिले गर्दा जङ्गली जनावरको बसोवास क्षेत्र मासिदै गएको हो । बाह्रै महिना मानिसहरू कुनै न कुनै उपयोगका लागि जङ्गल पस्ने गर्छन । जस्ले गर्दा जङ्गली जनावर असुरक्षित भएका छन् । जङ्गली साग निगुरो खोज्ने, दुना टपरीका लागि पात खोज्न जाने, दाउरा खोज्ने, रातोमाटो र कमेरो लिन जाने मानिससहरू ३६५ दिन नै जङ्गल मै हुन्छन ।
बसोबास क्षेत्रमा मानव अतिक्रमण मात्र होइन, पछिल्लो समय जङ्गली जनावरको चोरी शिकारी र तस्करी समेत बढेको छ । डिभिजन बन कार्यालय मोरङका सुचना अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा एउटा नीलगाई र दुईवटा चित्तल चोरीतस्करी गरिरहेको अवस्थामा तस्करलाई पक्राउ गरी मुद्धा दायर गरियो । उहाँले भन्नुभयो– जङ्गली जनावरहरू जङ्गलमा भन्दा मानव बस्तीमा सुरक्षित हुन थालेका छन् । शिकारीले बिच्काएका जङ्गली जनावर बस्तीमा भेटिनु यसैको कारण हो, ठाकुरले भन्नुभयो ।आव ०७७/०७८ मा रङ्गेली –३ मा र विराटनगर एयरपोर्टको कम्पाउण्ड भित्र नीलगाई भेटियो । जङ्गलमै बसोबास गर्ने चरा र कछुवाहरू समेत गाउँघरमा भेटिन थालेका छन् । उहाँले भन्नुुभयो–माउसुली,सुनगोहोरोे,हुचील लगायत जीवजन्तुु डिभिजन बन कार्यालयले उद्दार गरी सामूदायिक वनलाई संरक्षण गर्न दिएका छौं । हामीसँग आइ नपुगेका घटना अझ बढी हुन्छन् । आर्थिक वर्ष २०७६/०७७ मा सात प्रजाति जङ्गली जनावर मानव बस्तीमा भेटिएको डिभिजन बन कार्यालय मोरङको तथ्याङ्क छ ।
जङ्गलमा साल, कर्मा र अस्ना बाहेकका बनस्पति छैनन्
२०५२ सालमा सामूदायिक वनको अवधारण आयो । त्यसपछि नेपालमा बन क्षेत्र विस्तार भएको तथ्याङ्क हरेक वर्ष सार्वजनिक भइरहेका छन् । सामूदायिक वनले बन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको बन बिस्तारको अभियानमा लागेका अभियन्ताहरूको भनाई छ । तर,अभियानले मानिसले प्रयोेग गर्न उपयोगी जातका काठपातको मात्र वृक्षारोपण गरे । जसले गर्दा बन क्षेत्र जङ्गली जनावरका लागि उपयुक्त भएन । सामूदायिक बन महासङ्घ कोशी प्रदेशका सचिव अग्नि पौडेलले भन्नुभयो– जङ्गल मानव निर्मित भयो । जहाँ जङ्गली जनावरले खाने फलफुल जन्य वनस्पति शुन्य भएका छन् । अग्ला रुख मात्र होइन, साना बुट्यानहरू जसले पर्यावरणको रक्षा गर्दै हिडडुल गर्ने जङ्गली जनावरहरूको वासस्थानका रुपमा प्रयोगमा थिए । ति वनस्पति पनि अनेक अभियानका नाममा फाँडिए । बनस्पति कोइला बनाउने अभियानले साना बुट्यानहरू सखाप भए । अहिले आएर अभियन्ताहरू आँखा खुलेका छन्,उहाँले भन्नुुभयो । पौडेलका अनुसार अहिले बाँदरले खाने फलफूल जन्य बनस्पति जङ्गलमा छैनन् । त्यसैले बाँदर र अरु जङ्गली जनावरहरू मानव बस्ती र राजमार्ग वरपर भेटिन्छन् ।
बाँदर विज्ञ डाक्टर सविना कोइरालाका अनुसार बाँदरको प्राकृतिक बसोवास मासिएकोले बाँदरहरू गाउँघर तिर छिरेका हुन् । बाँदर मात्र होइन । खरायो, दुम्सी, स्याल, बनकुकुर,चितुवा समेत गाउँ छिरेका छन् । डाक्टर कोइरालाले बन भनेको साल,कर्मा र अस्नाका ठूला रुख मात्र हुन् भन्ने बुझाईले हाम्रो वातावरणीय सन्तुल नै बिग्रिएको बताउनु भयो । उहाँका अनुसार बाँदरमा प्राकृतिक बसोवास बदल्न सक्ने क्षमता भएकोले गर्दा बाँदर अहिले पनि घटेका छैनन् । तर, अरु प्रजातिका जङ्गली जनावरको बसोवास सुरक्षित नगरिदिने हो भने ति पशुजनावरहरू लोप हुने निश्चित छ । कोइरालाले बाँदर लगायतका जङ्गली जनावरको बसोवासका लागि झाडीहरू संरक्षित हुने पर्ने बताउनु भयो ।
मोरङको कानेपोखरी –७ का इन्द्रप्रसाद कोइरालाले भन्नुभयो– २०४५ सालसम्म मोरङको पूर्वपश्चिम राजमार्ग उत्तरको जङ्गलमा गाई लिएर गोठालो जाँदा हामी खाजा बोकेर जान्न थियौं । जङ्गलमा बनकेरा, आँप,बाँदरझुला, फडिर,जामुनो, क्यामुनो,बेल,कुसुम खान पाइन्थ्यो । बाँदर खाइनसकेर उभ्रिएको हामी खान्थ्यौं । गाउँघर तिर बाँदर,खरायो, दुम्सी , स्याल देख्न पाइदैन थियो । तर, अहिले जङ्गलमा बनकेरा, आँप,बाँदरझुला, फडिर,जामुनो, क्यामुनो,बेल,कुसुम केही छैन् । उहाँले जङ्गली फलफुल नभएको र जङ्गलको झाडी मासिएकोले बन्यजन्तु गाउँ पसेको बताउनु भयो ।
दैनिक जसो सडक दुर्घटनामा मर्छन,जङ्गली पशु
े मोरङको बेलबारी देखि पूर्व पथरीशनिश्चरेकोे सुनझोडा खोला बीचको पूर्व पश्चि राजमार्ग क्षेत्रमा बाँदर, हरिण, चित्तल र मृगले दैनिक जसो दुर्घटना गराउने गर्छन् । डिभिजन वन कार्यालय मोरङले सडक दुर्घटनामा मरेका र घाइते भएका जङ्गली पशु जनावरको तथ्याङ्क राखेको छैन् । तर, बेतना पूर्व सुनझोडा बीचको राजमार्ग क्षेत्रमा हप्तामा एउटा जङ्गली जनावर मर्ने गरेको बनसँग नजिक बन प्राविधिकहरू बताउँछन् ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : ०८:०९:०० , १ वर्ष अगाडि