औषधि प्रतिको भ्रम चिर्न आग्रह

Enepal Patra Pvt. Ltd. , ९७३  पटक हेरिएको

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ), २० माघ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले हात्तीपाइले रोगको निवारणका लागि स्थानीय निकायका सबै क्षेत्रलाई परिचालन गर्ने भएको छ ।
आइतबार नगरपालिकाको सभा हलमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख दिलिपकुमार राईले हात्तीपाइले रोगलाई सन् २०२० बाट उन्मुलन गर्ने महाअभियानमा सबै क्षेत्र र सरोकारवालालाई परिचालन गर्ने बताउनु भयो । अघिल्लो वर्ष देश मै सबैभन्दा बढी औषधि सेवन गराएर कीर्तिमानी कायम गरेको नगरपालिकाले पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीलाई औषधि प्रतिको भ्रम चिरिदिन आग्रह गर्नुभयो । हात्तीपाइलेको औषधि युरोप र अमेरिका जस्ता शक्तिशाली महादेश र देशहरूले विपन्न र अल्पविकसित राष्ट्रका जनतामा प्रयोग गर्न पठाएको भन्ने भ्रम रहेको छ । नगर प्रमुख राईले यही औषधि खाएर संसारभरबाट हात्तीपाइले उन्मुलन हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले संसारका धेरै मुलुकले यही औषधि नूनमा मिसाएर खुकाएको बताउँदै जसरी खाए पनि संसार भर हात्तीपाइले बिरुद्ध सेवन गर्ने औषधि एकमात्र रहेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सावन महतोले पत्रकारहरूलाई रोगको विगत र वर्तमान बारेमा जानकारी गराउनु भएको थियो । डाक्टर महतोका अनुसार प्रदेश नं. १ को झापा , मोरङ र धनकुटा जिल्लामा मात्रै यो रोगका बिरामी देखिएका छन् । त्यसमा पनि मोरङमा बढी जोखिम रहेको उहाँको भनाई छ ।
प्रदेश नं. १ का तीन जिल्लामा माघ २५ गते देखि घर घरमा पुगेर स्वास्थ्यकर्मी र स्वास्थ्यस्वयं सेविकाले यो औषधि खुवाउने कार्यक्रम छ । पथरीशनिश्चरे नगरपालिकाले अभियान सञ्चालन हुने एक साताभरि सञ्चारकर्मीहरूलाई समेत अभियानमा सहभागी गराउने भएको छ । नगरले गत वर्ष ८९ प्रतिशत नगरवासीलाई हात्तीपाइलेको औषधि खुवाएको थियो ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : ०८:१२:०६ , ४ वर्ष अगाडि