अभिभावकहरू रोजगार खोज्न पञ्जाबमा, छोरीहरू हजुरबा आमा रुङ्दै

Enepal Patra Pvt. Ltd. , ११७५  पटक हेरिएको

हरि कोइराला
बेलबारी(मोरङ), १९ माघ । घर कै छेउमा विद्यालय छ । नजिकै प्राथमिक स्वास्थ्य केन्द्र पनि छ । गाउँमा विजुली आएको धेरै वर्ष भयो । तर, मध्य मोरङको बाहुनी–बनौल (हाल बेलबारी नगरपालिका ७ )मा बसोवास गर्ने मुसहरहरू(ऋषिदेव) कुनै पनि सरकारी सेवाको पहुँचमा पुगेका छैनन् ।
उनीहरूलाई गाउँका अगुवाहरूले विद्यालय नजाउँ भनेको होइन । गाउँ गाउँका सडक कालोपत्रे भए । विद्यालय र बस्तीका विपन्न मानिसका घरका छानो फेरिए । तर , उनीहरू चेतना स्तरमा परिवर्तन ल्याउन नसक्दा अझै पनि उनीहरू दुरदराजका गाउँको जस्तै दैनिकी बिताइरहेका छन् । अधिकांश बालिका विद्यालय जाँदैनन् । विद्यालयमा नाम लेखाएकाहरू पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकोले विद्यालय जान पाउँदैनन् ।
बनौल र सोमबार क्षेत्रका बालिकाको दिनचर्या नै गुईठा बनाउने झिंझा र गोबर खोज्दै बित्ने गर्छ । सोमबारेकी अन्जना ऋषिदेव १२ वर्षकी पुगिन । तर उनले विद्यालय देखेकी छैनन् । उनी भन्छिन्–बुबा आमा पञ्जाव जानु भएको छ । ७ वर्ष भयो ,म र दिदी हजुरआमासँग बस्छौं । हजुरआमाले सधैं काममा पठाउने गरेकोले विद्यालय जान नपाएको उनले सुनाइन ।
देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना भएकी छिन् । तर, फुर्सदमा मात्र स्कुल जान पाउँछिन् । बुबा आमा नै पञ्जाव गएपछि उनको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्नेगर्छ ।
अझ कन्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजु भाइलाई पञ्जाव लग्नु भएको छ । उमेर समेत कति भयो थाहा नपाउने कन्चनले भनिन्–छोरी जति हामी घरमा छौं । कन्चनकी दिदी राधिकाले भनिन–हजुरआमा बुढी र बिरामी हुनुहुन्छ,बुबाले हामी तीन जनालाई छोडेर गएको ७ वर्ष भयो । कहिले काही फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न । उनले बाबुको ब्यबहार प्रति दुख प्रकट गरिन ।
बनौल र सोमबार क्षेत्रका अल्पसंख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्य सम्बन्धी झनै शुन्य छ । प्रत्येक युवाका सरदर ५ जना छोरी छन् । माटो काट्ने,पुर्ने ,बाँध बाँध्ने र कृषि सम्बन्धी परम्परागत पेशाहरू संकटमा पर्दै गएपछि उनीहरू पछिल्लो १० वर्ष यता भारतको पञ्जाव र हरियाणामा काम गर्न जाने गरेका छन् ।यही हप्ता पञ्जाव जाने तयारी गरिरहनु भएका बुधनु ऋषिदेवले भन्नुभयो । आफ्नो माटो छैन् । परिवार ठूलो भयो ,खान लगाउन दिनै प¥यो ,उहाँले जेठी छोरी र आमालाई घर जिम्मा लगाएर श्रीमती र पाँच छोरी आफैसँग लैजान लागेको बताउनु भयो ।
बनौल र सोमबारे क्षेत्रका अधिकांश युवाहरू श्रीमती सहित भारतको पञ्जावमा कृषि कर्म गर्न गएका छन् । शिक्षाको नाममा कखरा सम्म नचिने उनीहरूका छोरी र वृद्ध भएका बाबु आमाहरू भने छोरो कुरेर बसिरहेका छन् । तर स्वदेशमा काम नपाइने भएपछि उनीहरू भारतका कुखुरा र गाई फारममा काम गर्न गएका हुन् ।
परिवार नियोजन,नियमित खोप मात्र होइन ,कुनै प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी चेतना मुसहर(ऋषिदेव) परिवारमा छैन् ।तर, संघीयता कार्यान्वयनको चरण चलिरहेका बेला मोरङको बाहुनीका मुसहर जातिको अधिकार र त्यहाँका बालिकाहरूको शैक्षिक अधिकारको पक्षमा कसले बहस गरिदेला ?

प्रकाशित मिति: २०२०-०२-०२ , समय : ०८:५२:५५ , ५ वर्ष अगाडि