ईनेपालपत्र संबाददाता , ४८ पटक हेरिएको
लेटाङ, ४ जेठ । कुनै समय मोरङको साविक सिंहदेवी गाउँ विकास समिति विकासको अभाव, द्वन्द्वको त्रास र आधारभूत सेवाको कमीले सुनसान बन्दै गएको थियो । सडक, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युतको पहुँच नहुँदा गाउँका अधिकांश परिवार तराई झर्ने तयारीमा थिए ।
करिब २७ वर्षअघि अर्थात् १९९८ तिर यही निराशाबीच स्थानीय नारायण राईले भने गाउँमै भविष्य देखे । वैदेशिक रोजगारीका लागि ११ वर्ष ओमानमा बिताएका उनले कमाएको सम्पूर्ण धनराशी गाउँमै लगानी गर्ने निर्णय गरे । गाउँ छाड्न चाहने आफन्त, छिमेकी र साथीभाइबाट जग्गा खरिद गर्दै उनले व्यावसायिक चिया खेती सुरु गरे ।
त्यतिबेला धेरैले उनलाई “बाँझो डाँडामा चिया लगाएर असफल हुन्छ” भन्दै आलोचना गरे । सिंचाइको सुविधा नभएको, दुर्गम र जोखिमपूर्ण क्षेत्रमा चिया खेती सफल हुँदैन भन्ने धेरैको धारणा थियो । तर नारायण राई आफ्नो लक्ष्यमा अडिग रहे ।
उनले विस्तारै चिया खेती फैलाउँदै लगे । सन् २०१६ सम्म आइपुग्दा उनले ६ लाख बिरुवाको नर्सरी स्थापना गरिसकेका थिए । चिया तथा कफी विकास बोर्डले पनि व्यावसायिक चिया खेती विस्तारका लागि २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । चार रोपनी क्षेत्रफलमा फैलिएको नर्सरीबाट उत्पादन भएका बिरुवाले करिब ५ सय ५० रोपनी क्षेत्रमा चिया खेती विस्तार भयो ।
सुरुआती चरणमा रामेछाप, सिन्धुली र नुवाकोटबाट बिरुवा ल्याइए पनि पछि आफ्नै नर्सरी सञ्चालन गरियो । नारायण र उनकी पत्नी बिना खजुम राईको मेहनत देखेर गाउँका अन्य किसान पनि चिया खेतीतर्फ आकर्षित हुन थाले ।
बिना खजुम राई भन्छिन्, “पहिला चिया लगाउँदा हाँसो उडाउनुहुन्थ्यो, अहिले धेरैले त्यही खेती विस्तार गरिरहनुभएको छ ।”
तर सन् २०२१ मा कोरोना संक्रमणसँग लड्दै गर्दा नारायण राईको निधन भयो । त्यसपछि ‘मातृभूमि टी स्टेट’ को सम्पूर्ण जिम्मेवारी बिना खजुम राईले सम्हालिन् ।
नेपालमा चिया खेती भन्नेबित्तिकै झापा र इलाम सम्झिने गरिए पनि मोरङको केरावारी–२ सिंहदेवीमा बिना खजुमले चिया उद्योगलाई सफल व्यावसायिक उद्यमका रूपमा स्थापित गरेकी छन् । हालसम्म चिया बगानमा करिब २० करोड रुपैयाँ लगानी भइसकेको छ ।
वार्षिक ५ हजार केजी चिया उत्पादन हुँदै आएको उक्त उद्योगले आफ्नै मेसिनमार्फत हरियो चिया प्रशोधन गरेर बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले २ हजार केजी कालो चिया उत्पादन गर्छ भने ५ सय केजी हरियो चिया स्थानीय बजार तथा प्रदर्शनीमार्फत बिक्री गरिन्छ ।
बिना खजुमका अनुसार कामदार अभाव भएपछि ताप्लेजुङ र पाँचथरबाट तीन परिवार ल्याएर आवाससहित रोजगारी दिइएको छ । चिया बगानमा करिब १४ जना कामदार कार्यरत छन् । बगानमा काम नभएको बेला उनीहरू होमस्टे व्यवस्थापनमा समेत सहयोग गर्छन् ।
चिया व्यवसायसँगै उनले ‘मातृभूमि कृषि फार्म’ पनि सञ्चालन गरिरहेकी छन् । फार्ममा गाई, बाख्रा, कुखुरा र हाँस पालनसँगै किवी खेती, भर्मी कम्पोष्ट र झोल मल उत्पादनसमेत भइरहेको छ ।
“एउटै व्यवसायमा भर पर्दा कठिन समयमा टिक्न गाह्रो हुने रहेछ भन्ने महसुस भएपछि कृषि फार्म सुरु गरेकी हुँ,” बिना भन्छिन् ।
हाल वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने गरे पनि पूर्ण उत्पादन सुरु भएपछि वार्षिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको उनले बताइन् ।
कुनै समय बसाइँसराइको पीडाले खाली हुँदै गएको सिंहदेवी आज चिया खेतीमार्फत नयाँ पहिचान बनाइरहेको छ । नारायण राईले देखेको सपना अहिले बिना खजुम राईको नेतृत्वमा गाउँको आर्थिक पुनर्जागरणको आधार बनेको छ ।
प्रकाशित मिति: २०२६-०५-१८ , समय : १०:२६:५४ , १ घन्टा अगाडि