निरोज ढकाल , ४ पटक हेरिएको
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ समितिमा शैक्षिक योग्यता, बौद्धिक चोरी तथा न्यायिक प्रक्रियामा प्रभाव पारेको लगायतका गम्भीर आरोप उठेका छन्।
संसदीय सुनुवाइ समितिमा मंगलबारदेखि डा. शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल सुरु भएको हो। सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा उजुरीकर्ताहरूले शर्माको योग्यता र क्षमतामाथि प्रश्न उठाएका छन्।
मकवानपुरका उजुरीकर्ता दीपक न्यौपानेले डा. शर्माको शैक्षिक प्रमाणपत्र झिकाएर अध्ययन गर्न माग गरेका छन्। उनले समितिसमक्ष “योग्यतामा प्रश्न उठिसकेको छ, उहाँको फाइल मगाएर अध्ययन गरियोस्” भन्दै आग्रह गरेका हुन्।
न्यौपानेले प्रस्तावित प्रधानन्यायाधीशले सर्वोच्च अदालतभित्र ‘सेटिङ’ गरिरहेको आरोपसमेत लगाएका छन्। “सीसीटीभी फुटेजसमेत मगाएर हेरियोस्,” उनले सुनुवाइका क्रममा भने।
उजुरीकर्ताले न्यायाधीश नियुक्तिपछि एमाले पार्टी कार्यालय पुगेर शपथ लिएको विषयसमेत उठाएका छन्। “हिजो न्यायाधीश भएपछि एमाले पार्टी कार्यालय गएर शपथ खाने व्यक्तिलाई ख्याल गर्नुपर्ने हुन्छ,” न्यौपानेले बताएका छन्।
सुनुवाइका क्रममा सांसदहरूले पनि विभिन्न गम्भीर प्रश्न उठाएका छन्। रास्वपा सांसद राजीव खत्रीले बौद्धिक चोरीको आरोपबारे प्रमाण माग्दै “थेसिस पनि ल क्याम्पसका प्राध्यापकलाई लेखाएको भनेको के हो ?” भन्ने प्रश्न गरेका थिए।
त्यस्तै एमाले सांसद पद्मा अर्यालले उजुरीकर्तालाई आरोप झुटा ठहरिए सजाय भोग्न तयार हो कि होइन भन्ने प्रश्न गरेकी थिइन्। नेकपा सांसद वर्षमान पुनले “७० लाख लिएर मुद्दा प्रभावित पारेको आरोपको प्रमाण के हो ?” भन्दै आधार मागेका थिए।
रास्वपा सांसद मधु चौलागाईंले रिट दर्ता प्रभावित गरेको आरोपको प्रमाण माग्दै बौद्धिक चोरीसम्बन्धी आरोप प्रत्यक्ष पीडितले नै उठाउनुपर्ने हो कि होइन भन्ने प्रश्न गरे।
जवाफमा उजुरीकर्ता न्यौपानेले आफूलाई डा. शर्मासँग कुनै व्यक्तिगत रिसइबी नभएको बताएका छन्। उनले “थेसिस प्लेगारिजम भएको हो वा होइन, झिकाएर हेरियोस्” भन्दै निष्पक्ष अनुसन्धानको माग दोहोर्याएका छन्।
संसदीय सुनुवाइ समितिले उजुरी, प्रमाण र प्रस्तावित प्रधानन्यायाधीशको स्पष्टीकरणका आधारमा अन्तिम निर्णय गर्ने तयारी गरिरहेको छ।
प्रकाशित मिति: २०२६-०५-१९ , समय : १३:४७:४१ , ४९ मिनेटutes अगाडि