नयाँको नाममा सबै भत्काउने होइन’: अर्थमन्त्री अनुपस्थित हुँदा अमरेशको संसद्मा आक्रोश

निरोज ढकाल , ६  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित रहेको विषयलाई लिएर संसद्मा तीव्र असन्तुष्टि जनाएका छन्।

 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले अर्थमन्त्री बिना बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुनु संसदीय परम्पराविपरीत भएको बताएका हुन्। उनले आफ्नो २० वर्षे संसदीय अनुभवमा यस्तो अवस्था पहिलोपटक देखेको दाबी गरे।

 

छलफलका क्रममा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। त्यसप्रति कटाक्ष गर्दै सिंहले भने, “परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन। बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री नै बस्ने सिस्टम हो।”

 

उनले नयाँपनको नाममा संसदीय परम्परा र अभ्यासहरू भत्काउँदै जान नहुने चेतावनी दिए। “यदि सबै परम्परा भत्काउने हो भने सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि हटाऔं, मन्त्री पद पनि हटाऔं,” उनले व्यंग्यात्मक शैलीमा भने।

 

सांसद सिंहले नेपालको संविधानले संसदीय प्रणाली अंगीकार गरेको उल्लेख गर्दै संसद्को गरिमा र प्रणालीको संरक्षण आवश्यक रहेको बताए। “प्रश्न सरकारसँग गरिन्छ, जनताको आवाज यहीँ उठाइन्छ। अर्थमन्त्री नै नभएर बजेटको छलफल हुनु राम्रो संकेत होइन,” उनले भने।

 

उनले अर्थमन्त्री व्यस्त भए पनि कम्तीमा छलफलका मुख्य दिनहरूमा उपस्थित हुनुपर्ने धारणा राख्दै आफ्नो अभिव्यक्ति रेकर्डका लागि राखेको स्पष्ट पारे।

प्रकाशित मिति: २०२६-०५-१९ , समय : १४:२७:२२ , १ घन्टा अगाडि