दन्त्य कथा सुनेर हुर्किएका बालबालिका नैतिकवान हुने

Enepal Patra Pvt. Ltd. , १३११  पटक हेरिएको

बेलबारी(मोरङ),१५ माघ । मोरङको बेलबारी स्थित शिक्षा सन्देश इङ्लिस स्कुलले दुई दिने बाल साहित्य महोत्सवको आयोजना गरेको छ । सरस्वती पूजाका अवसरमा आयोजित महोत्सवमा बालबालिकाहरू कविता, कथा, नाटक र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको बेलबारी नगरपालिकाकी उप मेयर ढाकाकुमारी पराजुलीले बुधबार उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै पराजुलीले संयुक्त परिवारमा हजुरबा–हजरआमासँगै बसेर दन्त्य कथामा आधारित नैतिक शिक्षा सुनेका बालबालिकाहरू आचरण युक्त थिए, भन्नुभयो ।अहिले एकात्मक परिवारमा हुर्किएका नानीहरूलाई अभिभावकले समय दिन नसक्दा बालबालिकाहरू दिशाविहीन भइरहेको उहाँको भनाई थियो ।
उहाँले आधुनिकताको नाममा पब्जी खेलेर दिन कटाउने नानीहरूमा नैतिक शिक्षा आवश्यक भएको बताउँदै नागिन जस्ता टेलिश्रृङ्खला हेरेर बालबालिकाको समय बितिरहेको प्रति अभिभावकले चनाखो हुनु पर्नेमा जोड दिनुभयो । उप प्रमुख पराजुलीले भन्नुभयो – शिक्षा प्रविधि मैत्री हुनु पर्नेमा दुईमत छैन । तर, प्रविधि सँगै नैतिक श्रिक्षा र आचरण पनि बालबालिकाले सिक्नुपर्छ । धेरै पढेर धेरै पढाउने संस्कृतिबाट शिक्षकहरूले माथि उठ्नु पर्ने बताउँदै पराजुलीले पढाईसँगै बालबालिकालाई जिविकोपार्जनसँग जोड्न आग्रह गर्नुभयो । लब्धाङ्क पत्र र परीक्षामा पहिलो दोस्रो चाहने अभिभावकले आफ्नो नानीसँग भएको क्षमता के छ भन्ने बुझ्न नसक्ने बताउँदै उहाँले विद्यार्थीसँग भएको क्षमतालाई समाजसम्म निकाल्ने सेतुको काम शिक्षकले गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रदीप साहले साहित्यले विद्यार्थीको कल्पना शक्ति वृद्धि गराउने बताउनु भयो ।
विद्यालयका अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा भएको बाल साहित्य महोत्सवको उद्घाटन समारोहमा प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत,साहित्यकार भरत गुरागाँई , विद्यालयका काउन्सिलर भुपाल बस्नेत र विद्यालयका प्रिन्सिपल राजेशजङ्ग खत्रीले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२९ , समय : १८:२०:३३ , ४ वर्ष अगाडि