परिर्वतन भयो कांग्रेस महाधिवेशनको कार्यतालिका

Enepal Patra Pvt. Ltd. , ९८७  पटक हेरिएको

काठमाडौ । नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो । अब केन्द्र भन्दा भन्दा तल्ला समितिहरूले २०७७ कात्तिकभित्र अधिवेशन सक्नुपर्नेछ । यसअघि यो मिति २०७७ सम्म तय भएको थियो ।

नेविसंघका कार्यकर्ताबीच विवाद भइरहे पनि यो विषयमा भने केन्द्रीय समितिले कुनै निर्णय गर्न सकेन । नेविसंघमा ३२ वर्षमुनिलाई नेतृत्व दिनुपर्ने माग गर्दै रिले अनसनमा बसेका कुन्दराज काफ्ने नेतृत्वको समूहमाथि नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्य समूहले आक्रमण गरेपछि कांग्रेस मुख्यालय तनावग्रस्त छ ।

बैठकले पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गर्ने निर्णय गरेको छ। जस अनुसार

क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
(ख) विधानले तोकेको कार्य्विधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत मसान्तसम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेठ १५ गतेभित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेठ मसान्तभित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ साउन १५ गतेभित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ साउन २५ गतेभित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ साउन मसान्तभित्र ।

यसैगरी पार्टीका तल्लो तहको अधिबेशको कार्यतालिका पनि परिमार्जन गरेको छ। जस अनुसार
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ कात्तिक १६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

प्रकाशित मिति: २०२०-०१-२७ , समय : २१:४३:४८ , ४ वर्ष अगाडि