कुष्ठरोगका बिरामीलाई ५ हजार दिने घोषणा

Enepal Patra Pvt. Ltd. , ९४६  पटक हेरिएको

हरि कोइराला
कानेपोखरी(मोरङ), १२ माघ । कुष्ठरोग लागेको स्वघोषणा गर्दै गाउँपालिका पुग्ने नयाँ विरामीलाई मोरङको कानेपोखरी गाउँपालिकाले निशुल्क उपचार सहित ५ हजार रुपियाँ दिने भएको छ ।
आइतबार ६७ औं विश्व कुष्ठरोग दिवसका अवसरमा गाउँपालिका परिसरमा भएको कार्यक्रममा नगद रुपियाँ दिने घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कुष्ठरोगीहरूले आफ्नो रोग लुकाएर नबसुन भनेर रोग स्वघोषणाको कार्यक्रम ल्याइएको बताउनु भयो ।उहाँले गाउँपालिकाले कुष्ठरोग निवारण गर्ने अभियानलाई सफल बनाउन नगद रुपियाँ दिने घोषणा समेत गर्नुभयो । ६७ वर्ष देखि निवारण क्षेत्रमा सरकारी र गैर सरकारी निकायले काम गरिरहेको भए पनि कुष्ठरोगका बिरामी अझै भेटिरहेको बताउँदै उहाँले प्रभावकारी खोज पड्तालका लागि स्वघोषणा गरिएको उल्लेख गर्नुभयो ।
गाउँपालिकाको तथयाङ्क अनुसार कानेपोखरीमा यो वर्ष १२ जना विरामी थपिएका छन् । गाउँपालिकाका स्वास्थ्य सह संयोजक रोहिन्द्र राजभण्डारीका अनुसार २०५३ देखि २०७५ साल सम्म गाउँपालिका भित्र १३९ जना बिरामी देखिएका थिए । जसमध्ये १२ महिना औषधि खाएर निको हुने खालका ९३ जना र ६ महिना औषधि खाएर निको हुने ४६ जना रहेका थिए । ति मध्ये ११ जना जटिल अवस्थाका (अङ्गभङ्ग हुन थालेका) र ३७ जना सामान्य अवस्थाका रहेको सह संयोजक राजभण्डारीले बताउनु भयो । २०७६ मा फेला परेका सबै रोगी सामान्य अवस्थाका रहेकाछन् ।
औपचारिक कार्यक्रम हुनु अघि गाउँपालिका भरिका माध्यमिक तहका विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि,विभिन्न संघ संस्था,जनप्रतिनिधि र सरोकारवालाहरूले प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए । गाउँपालिकाको अपाङ्गता समन्वय समितिले आयोजना गरेको कार्यक्रममा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२६ , समय : १७:५९:२८ , ४ वर्ष अगाडि