लेटाङमा भब्य रुपमा मनाइयो सोनाम ल्होसार

Enepal Patra Pvt. Ltd. , ११३८  पटक हेरिएको

लेटाङ (मोरङ) ११ माघ । मोरङको लेटाङमा तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम  ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाएका छन् ।
सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न नगरभरिबाट लेटाङ ४ को वौद्ध गुमबामा भेला भएका तामाङ दाजुभाइ दिदी बहिनीहरूले शुभकामना साटासाट गरी नयाँ वर्ष मनाएका हुन् । तामाङ समुदायमा ज्ञानका देवता अर्थात इष्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मितर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन् । पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पूरा भई २८५६ वर्ष शुरु भएको छ ।
ल्होसार पर्व विशेष समारोहको उद्घाटन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले नगरमा भएका सबै जातिका मौलिक पर्वहरूको जर्गेना विकासमा नगरले उत्तिनै महत्व दिएको बताउनु भयो । नगर प्रमुख राईले नयाँ वर्षले नेपाली नेपाली बीच बन्धुत्वको विकास गरी एकले अर्को समूदायलाई सम्मान गर्ने वातावरण सृजना गर्न सकोस भन्दै वर्षभरि नै सांस्कृतिक जागरणका कार्यक्रमहरू सञ्चालन हुनु पर्नेमा जोडदिनु भयो । एक दिन पर्व मनाएर मात्र केही हुँदैन । भाषा सिक्न पर्व चााहिदैन, आफ्नो जातको पोशाक लगाउन पर्व पर्खिनु पर्दैन । उहाँले ३६५ दिन नै जातीय संस्कृतिका कार्यक्रम भइरहनु पर्ने उल्लेख गर्नु भयो । एक समूदायको नयाँ वर्ष अर्को समूदायले पनि उत्तिकै महत्वका साथ मनाउने नेपाली परम्परा संसार मै उदाहरणीय रहेको उहाँको भनाई थियो ।
हरेक जात, धर्मले आफ्नो संस्कृति र संस्कार र परम्परा बचाएर राख्न सके मात्र जातीय तथा धार्मिक पहिचान जोगिने राईले बताउनु भयो । सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ ।

प्रकाशित मिति: २०२०-०१-२६ , समय : ०९:४५:२३ , ४ वर्ष अगाडि