आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरेर मनाइदैँ

प्रशान्त निराैला , ४  पटक हेरिएको

काठमाडाैं, २६ असाेज । बडा दशैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, यस दिन नवदुर्गा मध्येकी दोस्रो स्वरूप माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरिन्छ।

‘ब्रह्म’ शब्दको अर्थ तपस्या वा ज्ञान हुन्छ र ‘चारिणी’ को अर्थ आचरण गर्ने वा हिँड्ने भन्ने बुझिन्छ। अर्थात्, तपको आचरण गर्ने वा ब्रह्म (परब्रह्म) मा लीन रहने देवी नै ब्रह्मचारिणी हुन्।माता ब्रह्मचारिणीको स्वरूप अति भव्य, शान्त र तेजोमय मानिन्छ। उनको दाहिने हातमा जपमाला (रुद्राक्षको माला) र देब्रे हातमा कमण्डलु सुशोभित छ। उनले सेतो वस्त्र धारण गरेकी हुन्छिन्, जुन पवित्रता, शान्ति र सात्विकतातको प्रतीक हो।

हिमालयकी पुत्रीका रूपमा जन्मिएकी माता ब्रह्मचारिणीले देवर्षि नारदको सल्लाहमा भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न हजारौँ वर्षसम्म कडा तपस्या गरेकी थिइन ।  यसै कठोर तपस्या (ब्रह्मचर्य) का कारण उनको नाम ‘ब्रह्मचारिणी’ रहन गएको हो। उनले हजारौँ वर्षसम्म केवल फलफूल र कन्दमूल खाएर, पछि केवल सुकेका पातहरू चबाएर र अन्ततः निर्जला व्रत बसी तपस्या गरेकाे धार्मिक ग्रन्थहरूमा उल्लेख छ। उनको यसै कठोर तपस्याले सम्पूर्ण ब्रह्मांडमा उनको जयजयकार भएको थियो।

बिहान स्नान गरी शुद्ध भएर पूजाकोठामा माता ब्रह्मचारिणीको ध्यान गर्दै व्रत र पूजाको संकल्प गरिन्छ। मातालाई सेतो रङको वस्त्र, सेतो फूल, अक्षता, चन्दन, र विशेष गरी पञ्चामृत (दूध, दही, घ्यू, मह र चिनी) र फलफूल चढाउने विधान छ। मातालाई शर्करा (चिनी) वा मिठाईको भोग लगाउनु अत्यन्त शुभ मानिन्छ। यस दिन ब्रतालुहरूले उखु वा चिनी दान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास छ। माता ब्रह्मचारिणीको आराधना गर्दा निम्न मन्त्रहरूको जप गरिन्छ:

ध्यान मन्त्र:

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।

देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तरा॥

मूल मन्त्र:

ॐ देवी ब्रह्मचारिण्यै नमः॥

माता ब्रह्मचारिणीको पूजा-आराधना गर्नाले भक्तहरूमा तपस्या, त्याग, वैराग्य, सदाचार र संयम जस्ता गुणहरूको विकास हुन्छ। उनको कृपाले जीवनका हरेक कठिन परिस्थितिमा अडिग रहने शक्ति प्राप्त हुन्छ तथा मन एकाग्र भई मोक्षको मार्ग खुल्ने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति: २०२६-१०-१२ , समय : ०६:२२:५५ , १ घन्टा अगाडि