गर्मी बढेसँगै रमितेमा पर्यटकको भीड, गाउँमै बढ्यो व्यापार

ईनेपालपत्र संबाददाता , ७  पटक हेरिएको

उर्लाबारी, २६ भदौ। तराई क्षेत्रमा गर्मी बढ्दै गएपछि मोरङको मिक्लाजुङ–१ स्थित रमिते आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। समुद्र सतहदेखि करिब १ हजार ५ सय मिटर उचाइमा रहेको रमितेमा तराईको तुलनामा निकै चिसो मौसम हुने भएकाले गर्मी छल्न आउने घुमन्तेको संख्या पछिल्लो समय बढेको हो। महेन्द्र राजमार्गको किसानचोकबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने रमितेमा गर्मीका बेला तापक्रम १८–१९ डिग्री सेल्सियस आसपास रहने स्थानीय बताउँछन्।

दुई दिनको सरकारी बिदासँगै रमितेमा पर्यटकको चहलपहल थप बढेको छ। शुक्रबार साँझ आएर आइतबारसम्म बस्ने पर्यटकको संख्या बढेपछि स्थानीय होटल व्यवसाय व्यस्त बनेका छन्। पछिल्लो दुई वर्षमा मात्रै रमिते क्षेत्रमा करिब १८ वटा साना–ठूला होटल सञ्चालनमा आएका छन् भने केही नयाँ होटल निर्माणाधीन छन्। होटलमा कोठा नपुग्दा टेन्ट राखेरसमेत पर्यटकलाई बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था आएको व्यवसायी बताउँछन्। होटल व्यवसायसँगै स्थानीय उत्पादनको बिक्रीसमेत बढेको छ।

पर्यटन गतिविधि बढेपछि रमिते र आसपासका गाउँमा रोजगारी तथा आर्थिक गतिविधि विस्तार हुन थालेको स्थानीयको भनाइ छ। निगुरो, स्कुस, आलु, सुन्तला, कागती, नास्पाती, अम्बा, अलैँची, अम्लिसो, तेजपात र अदुवालगायत कृषि उत्पादनले गाउँमै बजार पाउन थालेका छन्। होटल तथा पर्यटकका कारण स्थानीय कुखुरा, हाँस, बंगुर र खसीको मागसमेत बढेको व्यवसायी बताउँछन्। यसले विगतमा उत्पादन बिक्रीका लागि टाढाको बजार पुग्नुपर्ने किसानलाई सहज भएको छ।

मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राईका अनुसार पर्यटन र स्थानीय उत्पादनको बजार विस्तारसँगै गाउँबाट बाहिरिने क्रमसमेत कम हुँदै गएको छ। सडक, विद्युत् र स्वास्थ्यजस्ता आधारभूत सुविधा पुगेपछि स्थानीयले आफ्नै गाउँमा व्यवसाय र रोजगारीको सम्भावना देख्न थालेका छन्। स्थानीय सन्तोष राई पनि पर्यटकको आगमनसँगै गाउँको आर्थिक गतिविधि बढेको बताउनुहुन्छ। उहाँका अनुसार अहिले रमितेमा पार्किङ, होटल र सार्वजनिक स्थानसमेत पर्यटकको चापका कारण साँघुरा देखिन थालेका छन्।

प्राकृतिक सौन्दर्य र चिसो मौसमका कारण रमिते मोरङकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। तराईको गर्मीबाट केही समयका लागि राहत खोज्ने पर्यटकका लागि रमिते आकर्षक गन्तव्य बन्न थालेको स्थानीयको भनाइ छ। पर्यटन पूर्वाधार, प्रचारप्रसार र स्थानीय उत्पादनलाई थप व्यवस्थित गर्न सके रमितेले कोशी प्रदेशका स्थापित पर्यटकीय गन्तव्यसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको स्थानीय बताउँछन्।

प्रकाशित मिति: २०२६-०९-११ , समय : १४:३३:०८ , १ घन्टा अगाडि