बिदेशको पसिना स्वदेशमा सिंचित

विद्यालयमा ३ लाखको अक्षयकोष र  दश जोड दुई कक्षा सञ्चालन गर्न ६६ हजार सहयोग

Enepal Patra Pvt. Ltd. , ६३५  पटक हेरिएको

हरि कोइराला
उर्लाबारी,९ माघ । बैदेशिक रोजगारका क्रममा हङ्कङ पुगेका युवाहरूको केवीआई समूहले आफूले कखरा सिकेको सार्वजनिक माविलाई आर्थिक सहयोग गरेको छ ।
तत्कालिन राजघाट – ८ आम्बारीको सार्वजनिक निमाविबाट प्रारम्भिक शिक्षा लिनु भएका कसल लिम्बू,भीम पन्धाक र इन्द्र लिम्बूले विद्यालयमा अक्षयकोष निर्माणका लागि ३ लाख रुपियाँ सहयोग गर्नु भएको हो । यस अघि विभिन्न समयमा सहयोग गरी अक्षयकोषमा २ लाख ८० हजार रुपियाँ सहयोग गर्नु भएका उहाँहरूले मङ्गलबार कोषमा २० हजार रुपियाँ थप गरी ३ लाख रुपियाँको कोष तयार गरिदिनु भएको हो । यस्तै सोही समूहले मङ्गलबार नै आगामी शैक्षिक सत्रबाट सुरु हुने दश जोड दुई कक्षा सञ्चालन गर्न ६६ हजार ६६६ रुपियाँ नगद सहयोग गरेको छ ।
अक्षयकोषमा वृद्धि गरिएका र प्लसटु कक्षा सञ्चालनका लागि दिइएको रकम मङ्गलबार नै दाताहरूको तर्फबाट भीम पन्धाकले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङलाई प्रदान गर्नुभयो । केही समय सोही विद्यालयमा अध्यापन समेत गराउनु भएका पन्धाकले गुणस्तरीय शिक्षाका लागि आफ्नो गाउँको विद्यालयलाई सहयोग गरेको बताउनु भयो । केवीआई फाउण्डेसन नामको गेरसरकारी संस्था दर्ता गरी सोही मार्फत ग्रामीण क्षेत्रको शैक्षिक सुधार अभियानमा लागेको फाउण्डेसन हाल सम्म उर्लाबारी – ८ र ९ का सामूदायिक विद्यालयलाई सहयोग गर्दै आएको छ ।
फाउण्डेसनका सदस्य एवं अरनिको अस्पतालका अध्यक्ष राजकुमार लिम्बूले शैक्षिक सुधारका लागि भएको सहयोगले परिणाम पनि उत्कृष्ट दिनुपर्ने बताउनु भयो । विदेशमा बसेर दुख गरी कमाएको पैसा आफ्नो गाउँका विपन्न र वोर्डिङ स्कुल पढ्ने पहुँच नभएका विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा खर्च गर्ने फाउण्डेसनले यसअघि उर्लाबारी—९ को प्रभात आधारभूत विद्यालयलाई पनि नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको लिम्बूले बताउनु भयो

प्रकाशित मिति: २०२०-०१-२३ , समय : १९:११:१८ , ४ वर्ष अगाडि