ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
लेटाङ, १९ भदौ । भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति लेटाङ नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
लेटाङ नगरपालिकाको २०८३ साल भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल २५ लाख ६७ हजार ३८५ रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार जनप्रतिनिधिहरूको तर्फबाट १ लाख ४९ हजार १०० रुपैयाँ, कर्मचारीहरूको तर्फबाट ७ लाख ११ हजार ५५२ रुपैयाँ तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट १७ लाख ६ हजार ७३३ रुपैयाँ सहयोग गरिनेछ।
नगरपालिकाले बाढीका कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै लेटाङमा बसोबास गर्ने तथा अन्य क्षेत्रका बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
नगर प्रमुख भुपेन्द्रकुमार लावतीद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को यस कठिन समयमा आ–आफ्नो स्थानबाट बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न सबैमा आह्वान गरिएको छ।
प्रकाशित मिति: २०२६-०९-०४ , समय : १७:१६:५६ , १ घन्टा अगाडि