सडक किनारमा पसल थापेर जीवन धान्दै विष्णुमाया

प्रशान्त निराैला , ४२  पटक हेरिएको

लेटाङ, १९ भदौ । मोरङको लेटाङ–बेलबारी सडकअन्तर्गत बेलचौरीको दोभानमा सानो पसल थापेर बसेकी ४४ वर्षीया विष्णुमाया राईको दैनिकी ग्राहकको पर्खाइमै बित्ने गरेको छ। सडक भएर आवतजावत गर्ने यात्रुले पानी, बिस्कुटलगायतका सामान्य सामान किनिदिएपछि त्यसैबाट हुने आम्दानीले राईले आफ्नो गुजारा चलाउँदै आएकी छन्। दिनभर पसलमा बसे पनि उनको आम्दानी भने निश्चित छैन।

सामान बिक्रीबाट भएको आम्दानीले पुनः सामान थपेर पसल चलाउने गरेकी राईलाई कहिलेकाहीँ यात्रुहरूले सहयोगस्वरूप रकमसमेत दिने गरेका छन्। “कहिलेकाहीँ यात्रुहरूले दयामायाले २र४ रुपैयाँ दिनुहुन्छ। त्यही रकमले फेरि सामान किनेर ल्याएर बेच्न बस्छु,” उनले भनिन्। आर्थिक रूपमा कमजोर राईका लागि यही सानो पसल जीवन धान्ने मुख्य आधार बनेको छ।

 

छोराछोरी नभएको र श्रीमान्को साथसमेत नपाएको अवस्थामा आफूले सानो व्यापारको सहारा लिनुपरेको राई बताउँछिन्। उनले पसलबाट दिनभर कमाएको रकमसमेत श्रीमान्ले बेलुका लिएर मदिरा सेवनमा खर्च गर्ने गरेको गुनासो गरिन्। सामान बिक्री नहुँदा आम्दानी नहुने र आम्दानी नहुँदा पुनः सामान थप्नसमेत समस्या हुने भए पनि जीवनयापनकै लागि उनी हरेक दिन त्यही ठाउँमा पसल थापेर बस्ने गरेकी छन्। उनको संघर्षपूर्ण अवस्थाप्रति सम्बन्धित निकाय र समाजको ध्यान जानुपर्ने देखिन्छ।

प्रकाशित मिति: २०२६-०९-०४ , समय : १४:२७:४३ , ५१ मिनेटutes अगाडि