आगलागी पीडितलाई रेडक्रसद्वारा राहत सामग्री हस्तान्तरण

ईनेपालपत्र संबाददाता , १  पटक हेरिएको

लेटाङ, २६ साउन। लेटाङ नगरपालिका–७, वारांगीमा भएको आगलागीबाट घर तथा पसल गुमाएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री हस्तान्तरण गरेको छ।
आगलागीबाट पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै पूर्वसांसद डिगबहादुर लिम्बुसहितको टोलीले आज घटनास्थल पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। टोलीमा नेपाल रेडक्रस सोसाइटी लेटाङ नगर सभापति प्रशान्त निरौला, भोगटेनी उपशाखा सभापति बालकुमार लिम्बु तथा महिला नेतृ इन्दु चौधरी लगायतको सहभागिता रहेको थियो।
रेडक्रसले पीडित परिवारका लागि दाल, चामल, थाल, कचौरा, म्याटलगायतका आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
गत आइतबार करिब १ः३० बजे भएको आगलागीमा फमकुमार मगरको घर, टीका प्रसाद धितालको होटल, किराना तथा कस्मेटिक पसल र मनोज शाक्यको भाँडा पसल पूर्णरूपमा जलेर नष्ट भएका थिए। आगलागीबाट तीन परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
राहत हस्तान्तरणका क्रममा पूर्वसांसद लिम्बुले आगलागी पीडित तीनै परिवारलाई तत्काल आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै सहयोगी दाताहरूलाई पीडित परिवारको अवस्था बुझेर सहयोग गर्न आग्रह गरे। उनले तीनवटै परिवारलाई समान रूपमा सहयोग पुग्ने गरी राहत तथा सहयोगका कार्यक्रम अघि बढाउन समेत अनुरोध गरेका छन्।
आगलागीबाट पीडित परिवारको घर तथा व्यवसाय नै नष्ट भएकाले तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, लत्ताकपडा, आवास तथा आर्थिक सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: २०२६-०८-११ , समय : १६:३८:०६ , २३ मिनेटutes अगाडि