ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
लेटाङ, २८ असार। इलामको चुलाचुलीदेखि मिक्लाजुङ हुँदै लेटाङ र धरानसम्म आवतजावत गर्ने नागरिकका लागि महत्त्वपूर्ण मानिएको तेली खोलामा पक्की पुल निर्माण हुने भएको छ। मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि रु. २२ करोड ५२ लाख ३ लाख ५५ हजार ४ सयको लागतमा ठेक्का आह्वान गरिएको छ।
मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलका अनुसार पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ। उनले यो पुल निर्माणको माग आफूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारकै पालादेखि निरन्तर उठाउँदै आएको बताए। गत आर्थिक वर्षमै बजेट विनियोजन भए पनि समयमै ठेक्का प्रक्रिया सम्पन्न हुन नसक्दा निर्माण कार्य सुरु हुन सकेको थिएन। हाल पुल निर्माणको कामलाई शीघ्र अघि बढाउन आवश्यक समन्वयका लागि आफू काठमाडौंमा रहेको उनले जानकारी दिए।
करिब १६० मिटर लामो बन्ने प्रस्तावित पुल निर्माण सम्पन्न भएपछि मिक्लाजुङका साविक रमिते, टाँडी लगायतका क्षेत्रका बासिन्दाले लेटाङ हुँदै धरान, विराटनगर तथा अन्य प्रमुख सहरतर्फ सहज रूपमा यात्रा गर्न सक्नेछन्। हाल वर्षायाममा तेली खोलामा पानी बढ्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।
स्थानीयवासीले पुल निर्माणले यातायात सहज हुनुका साथै व्यापार, कृषि उपज ढुवानी, शिक्षा, स्वास्थ्य तथा आपत्कालीन सेवामा समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको यो आयोजना सम्पन्न भएपछि इलाम, मिक्लाजुङ र लेटाङ क्षेत्रबीचको आवागमन तथा आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०७-१३ , समय : ११:४२:२७ , २ घन्टा अगाडि