मूल्यवृद्धिले पूर्वाधार निर्माण प्रभावित, अलकत्रा अभावमा सडक कालोपत्रे रोकियो

ईनेपालपत्र संबाददाता , ५  पटक हेरिएको

मोरङ, ४ जेठ । मध्यपूर्वमा भइरहेको इरान–अमेरिका द्वन्द्वको असर नेपालका पूर्वाधार तथा सडक निर्माण आयोजनामा देखिन थालेको छ । इन्धन, अलकत्रा (विटुमिन) लगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न विकास आयोजना प्रभावित बनेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग विस्तार अन्तर्गत पश्चिम खण्डमा करिब सात किलोमिटर सडक अलकत्रा अभावका कारण कालोपत्रे हुन सकेको छैन । निर्माण कम्पनीले असार अन्तिमसम्म थप आठ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरे पनि आवश्यक सामग्रीको अभावले काम प्रभावित भएको जनाएको छ । पूर्वी खण्डमा पनि बेस हालेर कालोपत्रे गर्ने तयारी भइरहेका सडक वर्षा र सामग्री अभावका कारण समस्यामा परेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा झापाको सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म सडक विस्तार गरिरहेको सीआरएफजी तुङ्दी जेभीका प्रोजेक्ट म्यानेजर डोरमणि पौडेलका अनुसार आयोजनालाई दैनिक १२ हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि नेपाल आयल निगमबाट चार हजार लिटर मात्रै उपलब्ध भइरहेको छ । इन्धन अभावका कारण धेरै उपकरण सञ्चालनविहीन अवस्थामा रहेको उनले बताए ।

पश्चिम खण्डमा मात्रै असार मसान्तअघि कालोपत्रे गर्न तयारी अवस्थामा रहेका १५ किलोमिटर सडकका लागि पाँच हजार टन अलकत्रा आवश्यक रहेको निर्माण कम्पनीले जनाएको छ । कम्पनीले एलसी खोलिसके पनि पर्याप्त सामग्री प्राप्त हुन सकेको छैन । सामग्रीको मूल्य दोब्बर बढेकाले आयोजना सम्पन्न गर्न कठिनाइ भएको निर्माण व्यवसायीहरूको भनाइ छ ।

साना निर्माण व्यवसायीहरू झन् बढी समस्यामा परेका छन् । आभास कन्ट्रक्सन, कानेपोखरी–५ मोरङका सञ्चालक भोजकुमार श्रेष्ठका अनुसार सडक ठेक्का लिँदा अलकत्राको मूल्य प्रतिकेजी ९६ रुपैयाँ रहेकोमा अहिले १६५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १३७ रुपैयाँबाट बढेर २२२ रुपैयाँ पुगेको उनले बताए । उनका अनुसार अलकत्राको मूल्य ७१ प्रतिशत र डिजेलको मूल्य ६२ प्रतिशतले वृद्धि भएको छ ।

बेमौसमी वर्षाका कारण बेस हालेर छोडिएका सडक बिग्रिन थालेका छन् । समयमै कालोपत्रे गर्न नसक्दा सडकको गुणस्तरमा समेत असर परेको व्यवसायीहरूले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालु आर्थिक वर्षको वैशाख २६ गतेसम्म विराटनगर नाकाबाट १ लाख ८३ हजार १६६ टन अलकत्रा आयात भएको छ । गत वर्षको सोही अवधिमा २ लाख ८७ हजार ५०५ टन अलकत्रा आयात भएको थियो । यस वर्ष करिब १० करोड किलोभन्दा बढी अलकत्रा कम आयात भएको तथ्यांकले देखाएको छ ।

भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले अलकत्रा आयात घट्दा राजस्व मात्र होइन, समग्र विकास निर्माण क्षेत्रमा नै प्रत्यक्ष असर परेको बताए ।

प्रकाशित मिति: २०२६-०५-१८ , समय : ०९:४५:२१ , १ घन्टा अगाडि